पु.समाचार

जेठ ११ गते एकै चरणको निर्बाचन गर्न ओलीको प्रस्ताव

काठमाण्डौ । एमालेले वैशाख ३१ को निर्वाचन मिति केही दिन सारेर भए पनि एकैचरणमा निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगको भेटमा एमाले अध्यक्ष केपी ओलीले यस्तो प्रस्ताव गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आन्तरिक छलफल गरी ओली निवास बालकोट गएका कांग्रेस नेताहरुले भने दुवै चरणको निर्वाचन तालिका आइसकेकाले पुनस् एकैचरणको निर्वाचन गर्न असंभव हुने बताए । ‘बजेटअघि जेठको ११र१२ गतेतिर एकैचरणको निर्वाचन गरौं भन्ने प्रस्ताव ओलीजीबाट आयो’कांग्रेस वरिष्ठ नेता पौडेलले भने,‘हामीले दोस्रो चरणको निर्वाचन तालिका आइसकेकले कठिनाई हुने बतायौं ।’

कांग्रेस नेताहरुले संविधान संशोधनमा सहयोग गर्न र सहयोग गर्न नसके संसद्को प्रकृयामा अवरोध नगर्न आग्रह गरेका थिए । तर, एमाले अध्यक्ष ओलीले कुनै पनि हालतमा संविधान संशोधन गर्न नदिने भन्दै पुनः संसद अवरोधको संकेत दिएका थिए । कांग्रेस सभापति देउवाले विधेयकमाथि एमालेको सरोकारको विषयलाई समेत संशोधनमार्फत ल्याई सहमतिका लागि छलफल गर्न सकिने बताएका थिए । एमालेले बहुसंख्यक भाषालाई मान्यता दिने, प्रदेशसभा गठन नभएको अवस्थामा प्रदेशको सीमाकंनसम्बन्धी विषय व्यवस्थापिका संसदले हेरफेर गर्नसक्ने गरी संशोधन गर्न ल्याएको भन्दै आपत्ति जनाउँदै आएको छ । राष्ट्रियसभा गठनका लागि बन्ने निर्वाचन मण्डलमा स्थानीय तहका प्रमुखरउपप्रमुखको सहभागिता नरहने गरी ल्याइएको संशोधनमा समेत एमालेको आपत्ति छ ।

कांग्रेससँगको भेटमा एमालेले भाषा र संविधानको धारा २७४ को संशोधनसम्बन्धी व्यवस्थामा मुख्य आपत्ति जनाएको थियो । साथै मधेसका एघार जिल्लामा मात्रै स्थानीय तहको संख्या बढाउने तयारीप्रति पनि एमालेले आपत्ति जनाएको स्रोतले बतायो । ‘संविधान संशोधन सरकारले गर्ने होइन, संविधान संशोधनको प्रस्तावनै सरकारबाट आयो’एमाले अध्यक्ष ओलीको भनाइ थियो,‘भाषासम्बन्धी विषयलाई संविधानको अनुसूचीमा राखे पनि त्यो संविधानकै अंग हुन्छ । हामी कुनै पनि हालतमा मान्दैनौं ।’

ओलीसँगको छलफलपछि कांग्रेस नेताहरु सिधै बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्न पुगेका थिए । कान्तिुपरका अनुसार, एमाले संविधान संशोधनप्रति आफ्नो अडानबाट पछि नहटेकाले आइतबारको संसद बैठकमा संविधान संशोधन विधेयकलाई मतदानमा लैजाने कि, नलैजाने भन्नेमा द्विविधामा छन् । एमालेले संसद अवरोध गरेमा केही दिन लम्बिन सक्ने कांग्रेसका एक नेताले बताए । ‘एमाले अध्यक्ष ओली संसद अवरोध गरेर भए पनि संशोधन हुन नदिने अडानमा देखिए’बैठक स्रोतले भन्यो,‘भित्रैदेखि एमाले पनि निर्वाचन नचाहेको आशंका हामीलाई बढेको छ ।’