विचार/ब्लग

जानी राखौं : नर्सले गर्नुपर्ने यस्ता छन् १२ महत्वपूर्ण कामहरु

प्रत्येक स्कुलमा एक जना नर्स वा स्वास्थ्य स्वयंसेवीको व्यवस्था गरी विद्यार्थीलाई स्वास्थ्य शिक्षा प्रदान, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ व्यवहार अवलम्बन गराउन निजी विद्यालयहरुको संगठान प्याब्सन र स्वास्थ्य मन्त्रालयबीच केही समयअघि सम्झौता भयो।

मन्त्रालय र प्याब्सनबीच भएको ८ बुँदे सझदारीपत्रमा प्याब्सनले स्कुलहाताभित्र गुलिया पेय पदार्थ र जङ्कफुड निषेध र विद्यार्थीलाई दिवा खाजामा पोषिलो खानेकुरा पठाउन अभिभावकलाई प्रेरित गर्नुपर्नेछ।

यस्तै, हरेक विद्यार्थीलाई कुनै नै कुनै खेलमा सहभागी गराउने, ‘मेरो वर्ष’ अभियानका पाँच प्रतिबद्धता बालबालिका मार्फत घर परिवारसम्म पु¥याई व्यवहार प्रवर्धन र अबलम्बन गर्न अभिप्रेरित गर्ने र विद्यालयभित्र ‘मेरो वर्ष’ अभियानका पाँच वटा प्रतिबद्धताबारे स्वास्थ्य शिक्षा र प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने समझदारीमा उल्लेख छ।

स्वास्थ्य मन्त्रालयका तर्फबाट विद्यार्थीको व्यवहार परिवर्तनका लागि आवश्यक चेतनामूलक अध्ययन सामाग्रीहरु, स्वास्थ्य परीक्षणका लागि अवश्यक उपकरणहरु उपलब्ध गराउने र विद्यालयमा कार्यरत नर्सको क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण तालिमको व्यवस्था गर्नुपर्नेछ।

यो सम्झौता लागू भएपछि दुई वटा कुरामा स्पष्ट फाइदा पुग्नेछ। पहिलो, विद्यालय तहका विद्यार्थीको स्वास्थ्यमा तुलनात्मक रुपमा सुधार हुनेछ भने दोस्रो, नर्सिङ अध्ययन गरेका जनशक्तिले रोजगारी पाउनेछन्।

सरकारले निजी विद्यालयहरुसँग जसरी समझदारी गरेको छ त्यसैगरी सरकारी विद्यालयहरुमा पनि नर्स राख्ने व्यवस्था गर्नुपर्छ। किनकि धेरै बालबालिका सरकारी विद्यालयमै पढ्छन्। यो महत्वाकांक्षी योजना सफल भएमा देशले भविष्यमा स्वस्थ र जीवनशैलीप्रति अनुशासित जनशक्ति पाउनेछ।

यसरी विद्यालयमा राखिने नर्सहरुले बालबालिकाको स्वास्थ्यको पक्षमा कस्ता–कस्ता काम गर्लान् भन्ने धेरैलाई लाग्न सक्छ।

त्यसबारे यी १२ काम हेरौँः

१. नर्सहरुले विद्यालयमा बालबालिकालाई प्रत्यक्ष सेवा दिन्छन्। जस्तैः बान्ता, चोटपटक, मास हिस्टेरिया वा लामो समयसम्म स्वास्थ्य सेवा चाहिन सक्ने बालबालिकालाई सेवा पु¥याउन सक्छन्। आफूले नसक्ने सेवाका लागि अस्पताल पठाउन सक्छन्। जसले गर्दा बालबालिकाको शारीरिक अनि मानसिक स्वास्थ्यमा टेवा पुग्छ।

२.नर्सले विद्यार्थीका लागि स्वास्थ्य सम्बन्धी योजना बनाउन सक्छन्। जस्तैः जुकाको औषधि खाने तालिका, पोषणयुक्त खाने कुराको तालिका, विद्यालयमा जङ्कफुड निषेध, वातावरणीय सुरक्षा आदिबारे योजना बनाएर लागू गर्न सकिन्छ।

३. ‘स्क्रिनिङ’ जाचँ गरेर विशेष स्वास्थ्य समस्या देखिए सम्बन्धित अस्पतालमा रिफर गर्न सकिन्छ। जस्तैः आखाँ, कान, उचाइ, तौल आदिको योजनावद्ध स्वास्थ्य परीक्षण गरेर विद्यार्थीको स्वास्थ्य अवस्था बिग्रनबाट जोगाउन सकिन्छ।

४. नर्सहरुले स्वास्थ्य सम्बन्धी चेतना जगाएर विद्यार्थीलाई स्वास्थ जीवनशैली अपनाउन प्रेरित गर्न सक्छन्। दिनहुँ दाँत ब्रस गर्ने, समय–समयमा नुहाउने, नङ तथा कपाल काट्ने, हात धुने, महिनावारी भएको बेला सरसफाइमा विशेष ध्यान दिने, स्वस्थकर खाने कुरा मात्र खाने, शारीरिक व्यायाम अनि खेलकुदमा ध्यान दिने जस्ता विषयमा चेतना जगाउन सकिन्छ। यौन रोग, किशोरावस्थाको शारीरिक परिवर्तन बारे पनि विद्यार्थीलाई सचेत गराउने काम ‘स्कुल हेल्थ नर्स’ले गर्न सक्छन्।

५. नर्सहरुले विद्यालय, विद्यार्थी, अभिभावक र स्वास्थ्य संस्थासँग साझेदारी गरी विद्यार्थीको स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्।

६. विद्यार्थीमा भएका शारीरिक तथा मानसिक स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न नर्सहरुले उलेख्य भूमिका खेल्न सक्छन्।

७. विशेष विद्यार्थी (जस्तैः मुटुको समस्या, शारीरिक अपांगता भएका, दीर्घरोगी आदि) लाई समय–समयमा स्वास्थ्य परीक्षण गरेर वा हेरचाह गरेर पढन्का लागि उपयुक्त वातावरण सिर्जना गर्न सकिन्छ।

८. स्वास्थ्य परामर्श चाहिने विद्यार्थीलाई परामर्श दिएर उनीहरुको शैक्षिक प्रगतिका लागि सहयोगी बन्न सक्छन् नर्सहरु।

९. विद्यार्थीको शारीरिक, मानसिक विकास भएको छ÷छैन भनेर समय–समयमा जाँच गरी उनीहरुको विकासबारे परिवारलाई सचेत पार्न सकिन्छ।

१०. विद्यालयमा प्रदूषणरहित वातावरण बनाउन अभिप्रेरित गरी सरुवा रोगबारे जानकारी दिने काममा नर्सहरु सहयोगी हुनेछन्। सरुवा रोगहरुको रोकथाम, नियन्त्रणमा नर्सहरुले भूमिका खेल्छन्। नर्सहरुले विद्यार्थीको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर काउन्सिलिङ गर्न सक्छिन्, जसले गर्दा हिंसा, आत्महत्या जस्ता समस्यामा कमी आउने अपेक्षा गर्न सकिन्छ।

११. विद्यार्थीलाई धूमपान, मध्यपान तथा सुर्तीजन्य पदार्थको लतमा फस्न नदिन नर्सले भूमिका खेल्न सक्छन्। त्यस्ता पदार्थको सेवनले स्वास्थ्यमा आउने खराबीबारे विद्यार्थीलाई जानकारी दिएर सचेत राख्न सकिन्छ।

१२. आफ्नो कार्यक्षेत्रको दायराभित्र रहेर विद्यार्थीको स्वास्थ्यलाई सुद्धढ गराउने कामदेखि स्वास्थ्य समस्या भएका विद्यार्थीलाई विशेष सहयोग गर्नेसम्मको काममा नर्सले भूमिका खेल्न सक्छन्। (स्वास्थ्यखबरबाट)