पु.समाचार

सडक ऐन मिचेर बनाइएका भौतिक संरचना हटाउन पहल शुरु

इलाम । इलाम नगर कार्यपालिकाको पहिलो बैठकले नगर नियमावली र बैठक सञ्चालन कार्यविधि स्वीकृत गरेको छ । नगर कार्यपालिकाको बैठकले नेपालको संविधान को भाग १७ को धारा २१६ बमोजिम नगर नियमावली २०७४, कार्यविभाजन २०७४ र बैठक सञ्चालन कार्यविधि २०७४ लगायत स्वीकृत गरेको छ ।

नगरपालिकाका प्रमुख महेश बस्नेतको अध्यक्षतामा बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले प्रसूति स्याहार खर्चसम्बन्धी प्रतिवेदनका लागि उपप्रमुख सुशीला नेम्वाङको संयोजकत्वमा तीन सदस्यीय समिति र श्यामकृष्ण घिमिरेको संयोजकत्वमा तीन सदस्यीय मजदुर बीमा व्यवस्था समिति गठन गरेको छ ।

त्यसैगरी २०७२ चैत मसान्तअघि नगरपालिकाभित्र स्थायी बसोबास गर्ने घरवारविहीन दलित समुदायको पुनःस्थापनाका लागि १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी ठाकुरनारायण श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

नगरभित्रका जग्गा व्यावसायिक योजना बनाई नगरपालिकाबाट स्वीकृत गरेर मात्र चक्लाबन्दी गर्न पाइने भएको छ । त्यस्तै सार्वजनिक सडक ऐन २०३१ लाई मिचेर बनाइएका मेची राजमार्ग क्षेत्रका अवैध भौतिक संरचना हटाउन सडक डिभिजन कार्यालयलाई आग्रह गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए । रासस