अन्तर्राष्ट्रिय

सियरालियोनमा तीनसय जनाको मृत्यु

एजेन्सी । सिएरा लियोनको राजधानी फ्रिटाउनमा भिषण बाढी तथा पहिरोमा ज्यान गुमाउनेको संख्या ३०० नाघेको अधिकारीहरुले जनाएका छन्। अझै पनि कैयौं शवहरु भग्नावशेषमा पुरिएको हुनसक्ने आशंका गरिएको छ। अध्याँरो भएपछि खोज तथा उद्धार अस्थायी रुपमा स्थगित गरिएको छ।

राष्ट्रपति अरनेष्ट बाइ कोरोमाले टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रिय विपद्को सामना गर्न एउटा आपतकालिन केन्द्र सञ्चालनमा ल्याइएको बताएका छन्। रेडक्रसले करिब ३ लाख मानिसहरुले आफ्नो घरबार गुमाएको जनाएको छ।

एउटा परोपकारी संस्था सेभ द चिल्ड्रेनकी रमातु जोल्लाह भन्छिन्, “ती पहाडी क्षेत्रमा घना बस्ती रहेका छन् र कमजोर निर्माणका कारण ती घरहरु त्यति सुरक्षित छैनन् अझै ठूलो मानवीय क्षति हुनसक्ने चिन्ता हामीलाई लागिरहेको छ।”