आर्थिक

बैंकिङ कसूरको अभियोगमा ज्ञानेन्द्र सहित ११ पक्राउ

काठमाडौँ । नेपाल बैंक लिमिटेड धरान शाखाबाट अनियमित एवं गैरकानुनी तवरले सुन कर्जा लिने÷दिने कार्य गरी बैंकलाई रु १५ करोड ५१ लाखभन्दा बढी नोक्सानी पु¥याउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बैंकमा कार्यरत पाँच कर्मचारी र छ जना ऋणीलाई पक्राउ गरेको हो । उनीहरुलाई भदौ २ गते पक्राउ गरी इप्रका धरानमार्फत उच्च अदालत विराटनगरबाट सात दिनको म्याद थप गरी बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको व्युरोले जनाएको छ ।

पक्राउ पर्नेमा नेपाल बैंक लिमिटेड धरान शाखाका तत्कालीन सहायक शाखा प्रबन्धक रामकिशोर मेहता, सहायक शाखा प्रबन्धक शंकर न्यौपाने, खजान्ची होमबहादुर भट्टराई, सानुबाबु श्रेष्ठ र नेपाल बैंक लि विराटनगरका शाखा प्रबन्धक पुष्पराज घिमिरे छन् ।

ऋणीहरुमा भोजपुर जिल्ला सिद्धेश्वर घर भई हाल धरान नगरपालिका बस्ने वर्ष ३१ को ज्ञानेन्द्र पुरकुटी, सुनसरी धरानका सन्जित रसाइली, सन्तोष रसाइली, सुनिल विक, इटहरीका माधव रिसाल र सुनसरी प्रकाशपुरका लालबहादुर विक छन् ।