राजनीति

यसरी गर्दैछन् प्रधानमन्त्री देउवाले बुधबारदेखि भारतको राजकीय भ्रमण

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ ७ देखि ११ गतेसम्म भारतको राजकीय भ्रमण गर्दैछन्।

प्रधानमन्त्री देउवाका साथमा उहाँकी धर्मपत्नी डा आरजु राणा, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, मन्त्री, सांसद, सचिव तथा उच्च सरकारी अधिकारी रहने परराष्ट्र मन्त्रालयले सोमबार जनाएको छ । प्रधानमन्त्री देउवा भारत सरकारको विशिष्ट पाहुनाका रुपमा भारतीय राष्ट्रपति भवनमा बस्नेछन् ।

प्रधानमन्त्री देउवाको भदौ ८ गते भारतीय राष्ट्रपति भवनमा औपचारिक स्वागत हुनाका साथै उनले ‘गार्ड अफ अनर’ पनि ग्रहण गर्नेछन् । त्यसलगत्तै प्रधानमन्त्री देउवाले महात्मा गान्धीको समाधिस्थल राजघाट गई श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति एम वेंकैया नायडुसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नेछन् ।

त्यसैगरी प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षी मोदीसँग औपचारिक बैठक गर्नेछन् । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवा र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । भ्रमणका दौरानमा प्रधानमन्त्री देउवासँग भारतका केही वरिष्ठ मन्त्रीले शिष्टाचार भेटवार्ताको कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री देउवाले आफ्नो सम्मानमा भारतस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत कार्यक्रममा पनि सहभागी हुनाका साथै त्यहाँस्थित नेपाली समुदायसँग छुट्टै अन्तरक्रिया हुनेछ । त्यहाँ रहंदा उनले नेपाल–भारत विषयका जानकार तथा भारतीय व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

भ्रमणकै अवसरमा नेपाली प्रतिनिधिमण्डलका नेता प्रधानमन्त्री देउवाले भारतको तेलांगना, आन्ध्रप्रदेश र विहार राज्यको भ्रमणसमेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी भदौ ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।

गत जेठ २३ गते चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका नेपाली काँग्रेसका सभापति देउवाको पछिल्लो पटक प्रधानमन्त्री भएपछिको यो पहिलो विदेश भ्रमण हुनेछ । यसअघि उनले प्रधानमन्त्रीकै रुपमा तीन पटक भारतको औपचारिक भ्रमण गरिसकेका छन्।