आर्थिक

भिखारीको घरमा तीन लाख !

काठमाडौं । सधैं मागेर गुजारा चलाउँदै आएका एक ‘भिखारी’को घरको भग्नावशेष पन्छाउँदा ३ लाखभन्दा बढी रकम भेटिएको छ । विभिन्न मन्दिरमा बसेर बिहानदेखि माग्दै हिँड्ने व्यक्तिको घरमा भेटिएको रकमले निकै चर्चा पाएको छ । विराटनगर महानगरपालिका–७ स्थित सिंघिया खोला किनारमा बस्ने ती भिखारीको घरको भग्नावशेष हटाउँदा आइतबार बोरामा राखिएको नगद फेला परेको हो ।

विराटनगर–७ सरस्वती टोलनजिक सिंघिया खोला किनारामा सानो टहरोमा बस्ने महेश मण्डलको घरबाट ३ लाख १५ हजार रुपैयाँ फेला परेको हो ।

६५ वर्षीय मण्डलको घर बाढीले भत्काएपछि विस्थापित थिए । सधैं बिहान भीख माग्न हिँड्ने मण्डल पानीको सहतह घटेपछिको समय भने घरको रेखदेखमा नै बिताए ।

मंगलबारको राजधानीमा लेखिएको छ, उनले उद्धार गर्न पुग्नेहरुलाई घरको भग्नावशेष पन्छाउन नै दिएनन् । कारण थियो बोरामा राखेको पैसा । नेपाली सेनासहितको टोलीलाई भने उनले घरमा पैसा रहेको र त्यो सुरक्षित राख्ने सर्तमा मात्रै भन्नावशेष पन्छाउने अनुमति दिएका थिए ।