शिक्षा

साताभित्रै आयुर्वेदको बिएएमएस ओजेटी कक्षा

दाङ । आयुर्वेद क्षेत्रीय अस्पतालमा एक साताभित्रै नेपाल संस्कृत विश्वविद्यालयमा आयुर्वेद चिकित्सामा स्नातक तह (बिएएमएस) अध्ययन गर्ने विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि ओजेटी कक्षा सञ्चालन हुने भएको छ ।

त्यसका लागि सम्पूर्ण भौतिक पूर्वाधारसँगै थप विशेषज्ञ चिकित्सकसमेत आउने अस्पताल विकास समितिका अध्यक्ष भैरव मज्गैयाले जानकारी दिए ।

त्यसैगरी, हेल्थ असिष्टेन्ट सरह कविराज पढ्ने विद्यार्थीले समेत यहीँ प्रयोगात्मक अभ्यास गर्न पाउने छन् । त्यसका लागि विभागीय विकासको काम भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालमा आवश्यक पूर्वाधार र विशेषज्ञ चिकित्सकको अभावका कारण नेपाल संस्कृत विश्वविद्यालय, आयुर्वेद अध्ययन प्रतिष्ठानले यसअघि आयुर्वेदिय चिकित्सा अध्ययन गर्ने विद्यार्थीलाई समेत एलोप्याथिक अस्पताल, घोराही उपक्षेत्रीय अस्पताल र तुलसीपुर अञ्चल अस्पतालमा ओजेटी गराउँदै आएको थियो ।

दुईजना डाक्टरले काम चलाइरहेको सो अस्पतालमा अहिले चारजना स्नातक तहका डाक्टर रहेका छन् भने काया चिकित्सकसहित बालरोग विशेषज्ञ समेत आएका छन् । अस्पतालको सेवा सुविधा प्रभावकारी बनाउन भएका साधन स्रोतको अधिकतम सदुपयोग गरिने अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालमा यसैबीच भर्खरै सरुवा भएर आउनुभएका निर्देशक रामकामेश्वर ठाकुरले अस्पतालमा भएका एक्सरे सेवा, भिडिओ एक्सरे सेवा तथा प्रयोगशालालाई पनि आवश्यक जनशक्तिको व्यवस्थापन गरी सञ्चालनमा ल्याउने बताए ।