राजनीति

भलुवाही खोलाको बाँध निर्माण गर्दै युवा संघ

राजविराज । हालै आएको वर्षासँगैको खाँडो नदीको भिषण बाढीले क्षति पु¥याएको राजविराजस्थित भलुवाही खोलाको डिललाई पुनःनिर्माण गर्नका लागि युवा संघ नेपालले मंगलबारदेखि मर्मतको कार्य शुरु गरेको छ ।

भलुवाही खोलाको पुल नजिक खाँडो नदीको बाढीले ठाउँठाउँमा खाल्डो बनाएपछि मानिसलाई आवतजावतमा समस्या भइरहेको भन्दै सो खाल्डो पुर्नका लागि काम शुरु गरिएको नेकपा (एमाले) का उपसचिव प्रतापनारायण चौधरीले जानकारी दिए ।

युवा संघ, नेपालका अध्यक्ष राजीव पहारीको नेतृत्वमा ४० जनाको टोलीले बेल्चा, कोदालोसहित बोरामा बालुवा हालेर कटान भएको स्थलमा स्थानीयवासी समेतको सहयोगमा उनीहरु मर्मत कार्यमा जुटेको स्थानीय मनोहर पोखरेलले बताए ।

बाढी पीडितलाई राहत सामग्री वितरणपछि युवा संघको टोलीले खाँडो नदीले कटान गरेको भलुवाही खोलाको डिललाई मर्मतको काममा जुटेको बताइएको छ ।

त्यस्तै, सोही टोलीले राजविराजस्थित सिरहा रोडमा मुतनी नदीले क्षतिग्रस्त बनाएको विभिन्न ठाउँमा समेत मर्मत कार्य थालिएको युवा संघले जनाएको छ ।

गत साउन २६ गते वर्षासँगै जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण अधिकांश सडक क्षतिग्रस्त भएका छन् । त्यस्तै, खाँडो, महुली, जीता, बिहुल, खडक र मुतनी नदीलगायतका खोलामा आएको बाढीले सदरमुकाम राजविराजसहित जिल्लाका लगभग सबै नगरपालिका र गाउँपालिका डुबानमा परेका थिए ।

राजविराज वडा नं २ र वडा नम्बर ४ जोड्ने भलुवाही खोलाको पुलमा सो बाढीले ठूलो क्षति पु¥याउँदा आवतजावत अवरुद्ध हुनुका साथै खोलाको डिल कटान गर्नाले आसपासको बस्ती जोखिममा परेको बताइएको छ ।

यसैबीच, युवा संघले बाढीबाट मृत्यु भएका चारजनाको परिवारलाई राहत स्वरुप नगद रु ११ हजारका दरले प्रत्येक परिवारलाई राहत वितरण गरेको छ । त्यस्तै, लत्ताकपडा, खाद्यान्न सामग्री चामल, दाल, कपडा, जस्तापाता र औषधि समेत प्रदान गरिएको युवा संघका अध्यक्ष पहारीले बताए ।

सो राहत वितरण टोलीमा अध्यक्ष पहारी, उपाध्यक्षद्वय रमेश पौडेल र चन्द्र लामा, सचिवद्वय मञ्जु यादव र राजेश साह, सचिवालय सदस्य प्रभात कटुवाल, निरेशलाल सिंह तथा केन्द्रीय सदस्य सीता सुवेदीलगायतको उपस्थिति रहेको थियो ।