समाचार

भूकम्प पीडितले राहात पाए

चितवन । जिल्लाका दुई हजार ४३५ जना भूकम्प पीडितले पहिलो किस्ताबापतको रकम बुझेका छन् ।
पहिलो किस्ताबापत प्रतिपरिवार रु ५० हजार भूकम्प प्रभावितलाई रहात रकम वितरण गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

जिल्लामा भूकम्पका कारण सात हजार ३३४ घर पूर्ण रुपमा र आंशिक रुपमा ५९४ घर क्षति भएका थिए । भूकम्पका कारण क्षति भएका घर परिवारको राहतको रकम वितरणको काम भइरहेको स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

पूर्णक्षति भएका घरका लागि राज्यले तीन किस्तामा तीन लाख र आंशिक क्षति भएका घरका लागि दुई किस्तामा रु एक लाख दिने गरेको छ ।

पहिलो किस्ताबापतको रकम दशैंअघि सबै भूकम्प प्रभावितलाई बुझाइसक्ने तयारी भएको उनले बताए । अधिकारी सुवेदीकाअनुसार अहिले ६०१ जनाको राहात वितरणका लागि अन्तिम प्रक्रियामा पुगेको छ ।अन्य प्रभावितका लागि स्थानीय तहसँग समन्वय गरी सम्झौताको काम भइरहेको छ । जिल्लाको पहाडी क्षेत्र भूकम्पका कारण बढी प्रभावित भएको थियो । राहात रकम नपाउँदा भूकम्प प्रभावित अहिलेसम्म टहरामा रात बिताउन बाध्य छन् ।