आर्थिक

बाढीबाट एउटै जिल्लामा मात्रै दुई करोड चौहत्तर लाखका पशुपंक्षी क्षति

चितवन । गत महिना आएको बाढीका कारण जिल्लामा रु दुई करोड ७४ लाख ४३ हजार बराबरको पशुपक्षी क्षति भएको छ ।

जिल्ला पशु सेवा कार्यालयका अनुसार बाढीका कारण सबैभन्दा बढी क्षति कुखुरामा भएको छ । ब्वायलरतर्फ रु एक करोड ३९ लाख ५० हजार, लेयर्स कुखुरा रु ८८ लाख ४४ हजार, स्थानीय कुखुरा रु तीन लाख तीन हजारको क्षति भएको छ । बाढीका कारण ११ वटा गाई मरेका थिए ।

यस्तै बाढीबाट रु आठ लाख २५ हजार बराबरका ५५ वटा बाख्रा, रु सात लाख ९० हजार बराबरका ७९ वटा बंगुर, हाँस २२४ वटा, चोकर १९० बोरा र दाना सात हजार ४५३ किलो नष्ट भएको कार्यालय प्रमुख डा डिल्लीराम सेढाईंले जानकारी दिए ।

बाढीबाट १३ वटा खोर÷गोठ नष्ट भएको छ । भरतपुर महानगरपालिकामा रु एक करोड २६ लाख ४६ हजार बराबरको पशुपक्षी क्षति भएको छ । रत्ननगर नगरपालिकामा रु ९२ लाख १४ हजार, माडी नगरपालिकामा रु तीन लाख तीन हजार, खैरहनी नगरपालिकामा रु ३१ लाख ६५ हजार, राप्ती नगरपालिकामा रु २१ लाख १५ हजार बराबरको पशुपक्षी क्षति भएको कार्यालयले जनाएको छ ।