खेलकुद

सन्यास लिँदालिँदै विश्वचर्चित खेलाडी वाइन रुनीले दिए यस्तो प्रतिक्रिया !

एजेन्सी । इंग्ल्याण्डका सर्वाधिक गोलकर्ता वाइन रुनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । प्रशिक्षक ग्यारेथ साउथगेटले टिममा बोलाउँदा बोलाउँदै पनि उनले सन्यासको घोषणा गरेका हुन् ।

अर्को महिना माल्टा र स्लोभाकियासँग हुने विश्वकप छनौटका खेलका लागि साउथगेटले रुनीलाई टिममा बोलाएका थिए । तर त्यसलाई अस्वीकार गर्दै रुनीले सन्यासको घोषणा गरेका हुन् । ‘विशेष सुविधा पाउँदै राष्ट्रिय टिममा पर्दै आएको थिएँ’ सन्यासको घोषणा गर्दै निकालेको विज्ञप्तिमा ३१ वर्षे रुनीले भनेका छन् ‘तर अब विदा हुने समय हो ।’

केहीदिन अघि मात्र साउथगेटले रुनीलाई भेटेका थिए । टिममा बोलाएकोमा साउथगेटलाई धन्यवाद दिँदै आफूले सन्यास लिने बताएको रुनीले स्पष्ट पारेका छन् ।

रुनीले अब आफ्नो पूरा ध्यान एभर्टनका लागि केन्द्रित हुने पनि उनले स्पष्ट पारेका छन् । १४ वर्ष म्यानचेष्टर युनाइटेडमा खेलेर जारी सिजनमा एभर्टनमा फर्केका कप्तान रुनीले इंग्ल्याण्डको राष्ट्रिय टोलीबाट १ सय १९ खेल खेल्दै ५३ गोल गरेका छन् । उनले सन् २००३ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । १८ वर्षको उमेरमा नै उनले सन् २००४ को युरोकप खेलेका थिए । उनी म्यानचेष्टर युनाइटेडका अहिलेसम्मकै सर्वाधिक गोलकर्ता पनि हुन् ।

इंग्ल्याण्डका लागि कुनै पनि महत्वपूर्ण उपाधि जिताउन नसकेकोमा आफूलाई दुःख लागेको उनले बताए । म्यानचेष्टर युनाइटेडबाट ५ पटक प्रिमियर लिगको उपाधि उचालेका उनले एक पटक मात्र च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।