आर्थिक

एनआईसीको २० औं साधारणसभा भाद्र ३० गते

काठमाण्डौ । एन आई सी एशिया बैंकले भाद्र ३० गते २० औं बार्षिक साधारण सभा गर्ने भएको छ । यससँगै आ.व. २०७३/७४ को लागि सबैभन्दा अगाडि बोलाउने पहिलो बैंक भएको छ ।

उक्त साधारण सभामा अन्य प्रस्तावका अलावा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांस गरी जम्मा २१.०५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव निर्णयार्थ पेस गरिने छ ।

गत आर्थिक बर्षमा समग्र बाणिज्य बैंकको निक्षेप र कर्जा बृद्धि क्रमशः १० प्रतिशत र २० प्रतिशत रहेकोमा यस बैंकले निक्षेपतर्फ २५ प्रतिशत र कर्जातर्फ २२ प्रतिशतको बृद्धि हासिल गरी समग्र बजार भन्दा उच्चस्तरको र उत्साहपूर्ण परिणाम हासिल गरेको छ । यसैगरी समग्र वाणिज्य बैंकहरुको गत बर्षको कुल निक्षेपमा यस बैंकको ३.७९ प्रतिशतको बजार हिस्सालाई सुधार गर्दै यस बर्ष ४.१५ प्रतिशतको बजार हिस्सा ओगट्न बैंक सफल भएको छ । साथै, गत आर्थिक बर्षको समग्र वाणिज्य बैंकहरुको कुल निक्षेप बृद्धिमा बैंकले ६.७ प्रतिशत हिस्सा ओगट्न समेत बैंक सफल भएको छ ।

बैंकले आफ्ना सेवाग्राहीको सर्वोपरि हितलाई मध्यनजर गर्दै कर्जा तथा बचत योजनाहरु सञ्चालन गरिरहेको छ । बैंकले आफ्ना बचतकर्ताहरुलाई बचत खातामा ९ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएको छ जुन नेपाली बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट र आकर्षक ब्याजदर हो । यसैगरी बैंकले हालै मात्र सेयर धितो कर्जा प्रवाहलाई समेत निरन्तरता दिने निर्णय गरेको छ ।

बैंकले शाखा विस्तारको रफ्तारलाई गत बर्ष पनि निरन्तरता दिएको जनाएको छ । फलस्वरुप गत बर्ष नेपालको बैंकिङ्ग इतिहास मै सबैभन्दा बढि अर्थात् ५३ वटा शाखा बैंकले थप गरेको छ । तिब्र शाखा विस्तार सँगै हाल १२१ शाखा तथा ४ विस्तारित काउन्टर मार्फत् बैंकले विभिन्न बैंकिङ्ग सेवा प्रदान गरीरहेको छ ।