खेलकुद

नेइमारले यो सिजनमा गोल गर्न नसकेको पहिलो खेल, हेर्नुहोस् यस्तो देखिन्थ्यो खेलको दृष्य !

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलको यो सिजनमा लगातार चौथो जित दर्ता गरेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा पिएसजीले सेन्ट एटिनलाई ३–० ले हराएर लगातार चौथो जित दर्ता गरेको हो । लिगको  चौथो खेलमा जित दिलाउने क्रममा पिएसजीका लागि एडिसन काभानीले दुई तथा थिएगो मोटाले एक गोल गरे ।

सेन्ट एटिनका सैडी जान्कोले फउल गरेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै काभानीले २० औं मिनेटमा गोल गर्दै पिएसजीलाई सुरुवाति अग्रता दिलाए । ५१ औं मिनेटमा नेइमारको फ्रि–किकमा मोटाले गोल गर्दै पिएसजीको अग्रता दोब्बर  पारे ।

८९ औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गरेपछि पिएसजी ३–० ले विजयी भयो । काभानीले लिग वानमा यो सिजनका चार खेलमा पाँच गोल गरिसकेका छन् । यो खेलमा एक गोलका लागि सहयोग गरेका नेइमारले गोल भने गर्न सकेनन् ।

नेइमारले लिग वानमा खेलेको यो तेस्रो खेल हो र उनले गोल गर्न नसकेको पहिलो खेल हो । नेइमार यो सिजन विश्व कीर्तिमानी मूल्य २० करोड पाउण्डमा बार्सिलोनाबाट पिएसजी आएका हुन् । नेइमारले यसअघिका दुई खेलमा तीन गोल गरेका छन् भने तीन गोलका लागि सहयोग गरेका थिए । पिएसजी चार खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ ।