पु.समाचार

सुस्तावासीले गण्डक नहरको डिल काटेलगत्तै भारतले लियो कडा एक्सन !

नवलपरासी । सुस्तावासीले गण्डक नहरको डिल काटेको एक हप्ता पनि नवित्दै भारतीय पक्षले पानी आगमनमा अवरोध ल्याइदिएको छ । भारतले सो नहरमा पानी रोकेपछि अब गण्डक जलविद्युतबाट उत्पादन हुने विद्युतमा समेत अवरोध आएको जनाइएको छ ।

केही दिनअघि स्थानीय सुस्तावासीले साइफन र खोला सफा नगर्दा आफ्नो खेती र गाउँ डुबानमा परेको भन्दै पश्चिम नहरको डिल काटेका थिए । सोही कारण देखाउँदै भारतीय पक्षले नहरमा पानी रोकेको बताइएको छ । सो नहरको पानीबाट ७ मेगावाट बिजुली समेत उत्पादन भैरहेको छ । उक्त बिजुली नेपाल पक्षले उपभोग गर्दै आएको छ ।

नहरमा उपलव्ध पानीले पर्सादेखि भारतको बिहारसम्म सिँचाई सुविधा उपलव्ध हुँदै आएको छ । डुबानमा परेको धानसहित अन्य बालीको क्षतिपूर्ति नपाएसम्म नहरमा पानी आउन नदिने चेतावनीपछि भारतले पानी दिन छाडेको हो।

स्थानीय राइपुरवा खोलाका कारण सुस्ताका छिवनी, फेचुवा, सत्पती, महलवारी र हरखपुरा गाउँ डुबानमा परेका छन् । डुबानबाट भएको क्षतिको पूर्ति नपाएसम्म नहरको डिल पुर्न नदिने स्थानीय बासिन्दाले बताउँदै आएका छन् ।

उनीहरुले आफ्नो २५ सय हेक्टरमा लगाइएको बाली डुबानमा परेको भन्दै त्यसको क्षतिपूर्ति समेत पाउनुपर्ने माग राख्दै आएका छन् ।

यसअघि डुबानमा परेर क्षति भएको विवरण तयार भएलगत्तै आगामी बिहीबार नेपाल र भारत पक्षको बैठक बस्ने तयारी भएको बताइएको छ ।