ब्रेकिङ न्युज

शंकरलाल अग्रवाल र दीपक भट्टसहित ४ जनाविरुद्ध मुद्दा दायर, ४२ करोड बढी बिगो

२८ जेठ, काठमाडौं । बैंकिङ कसुरको आरोपमा शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल, उपाध्यक्षद्वय सुलभ अग्रवाल र साहिल अग्रवाल तथा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टविरुद्ध मुद्दा  दायर भएको छ । 

उनिहरु विरुद्ध ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।

उच्च सरकारी वकिल कार्यालयले आज उनीहरूविरुद्ध कैद तथा जरिवानाको मागदाबीसहित उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरेको हो।

विशेष अदालतका रजिस्ट्रार वेदप्रसाद उप्रेतीका अनुसार प्रतिवादी चारै जनाविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको छ। यसै प्रकरणमा जिल्ला अदालत काठमाडौंमा पनि मुद्दा दायर भएको छ।

चार प्रतिवादीमध्ये दीपक भट्ट र सुलभ अग्रवाल हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका छन्।

साहिल अग्रवाल फरार छन् भने शंकरलाल अग्रवाल अनुसन्धानका क्रममा पक्राउ परेपछि हाजिरी जमानीमा रिहा भएका थिए। उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान पनि जारी रहेको छ।