स्वास्थ्य

डा इबाटाको सहयोगमा आँखा उपचार गर्ने मेशिन

रामपुर (पाल्पा) । कालीगण्डकी आँखा उपचार केन्द्र, रामपुरलाई आँखा जाँच गर्ने आधुनिक हाते मेशिन (पोर्टेबल स्टीलल्याम्प) सहयोग प्राप्त भएको छ ।

जापानी नागरिक डा इबाटा रिकाबाटाको सहयोगमा करिब रु तीन लाख बराबरको आँखा जाँचगर्ने हाते आधुनिक मेशिन सहयोग प्राप्त भएको आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेलले जानकारी दिए ।

सो मेशिन मंगलबार जापानी समाजसेवी काजुमासा काकिमी (ओकेबाजे) ले उपचार केन्द्रका अध्यक्ष पोखरेललाई हस्तान्तरण गरे । यस मेशिनलाई सही सदुपयोग गरेर यस क्षेत्रका जनतालाई सहज सेवा प्रवाह गर्न ओकेबाजेले आग्रह गरे ।

यस आँखा अस्पतालमा आँखा जाँच गर्ने आधुनिक हाते मेशिन नहुँदा विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गर्न समस्या आइपरेको अस्पतालका इन्चार्ज सुन्दर राना बताउछन् । अब यो मेशिन स्थलगत आँखा शिविर सञ्चालन हुँदा प्रयोग गर्न पाइने भएपछि उपचारमा थप सेवा दिन सहज हुने उनले बताए । रासस