पु.समाचार

बाढीपीडितलाई रु एक्काइस लाख राहत वितरण

दाङ । यहाँका बाढीपीडितलाई राहत वितरण शुरु गरिएको छ । पूर्णरुपमा घर भत्किएकालाई रु प्रतिघर १० हजार र विस्थापित परिवारमा प्रतिव्यक्ति रु दुई हजार १०० का दरले १०९ घरपरिवारलाई पहिलो दिन रु २१ लाख ४२ हजार १०० वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार राजपुर गाउँपालिकामा १६ वटा घर ७३ जनालाई तीन लाख १३ हजार ३००, लमही नगरपालिकामा २३ घर र १०३ जनालाई रु चार लाख ४६ हजार ३००, दंगिशरण गाउँपालिकामा ३३ घर र १५६ जनालाई रु ६ लाख ५७ हजार ६०० वितरण गरिएको छ ।

यसैगरी बबई गाउँपालिकामा ३७ घर र १६९ जनालाई रु सात लाख २४ हजार ९०० बाँडिएको छ । बाढी र डुबानबाट पीडित बनेकालाई सरकारले रु ४० लाख राहत रकम पठाएको थियो । जिल्लामा अहिलेसम्म सात जनाको मृत्यु र २९३ घर पूर्णरुपमा भत्किएकाले एक हजार ८२ जना विस्थापित भएका छन् ।