राजनीति

स्थानीय तहको चुनावमा मधेसी–पहाडीबीच मेलमिलापको संकेत

रौतहट। मधेस आन्दोलनयता विकास भएको ‘मधेसी भर्सेज पहाडी’ मनोविज्ञानका विपरीत स्थानीय तहको निर्वाचनमा पहाडी बाहुल्य क्षेत्रमा मधेसी उम्मेदवार मत मागेर हिँडिरहेका छन् । पछिल्लो मधेस आन्दोलनका क्रममा पहाडी र मधेसीको टकराव झेलेको रौतहट चन्द्रनिगाहपुर नजिकका दुई नगरपालिकामा प्रमुख दलले नगरप्रमुखमा मधेसी समुदायका उम्मेदवारलाई अघि सारेका छन् ।

पहाडीको केन्द्र : चन्द्रनिगाहपुर

चन्द्रनिगाहपुरलाई मधेसमा बस्ने पहाडीको केन्द्र मानिन्छ । यहाँ कांग्रेसले मेयरमा थारू समुदायलाई अघि सारेको छ । चन्द्रनिगाहपुरको छेउमै रहेको रौतहटको गुजरा नगरपालिका र फतुवाविजयपुर नगरपालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्र तीनवटै पार्टीले नगरप्रमुखमा मधेसी थारूलाई अघि सारेका छन् ।

उम्मेदवार
रौतहटको गुजरा र फतुवाविजयपुर नगरपालिकामा चन्द्रनिगाहपुरपछि पहाडी समुदायको उल्लेख्य बसोवास रहेको स्थानीयको बुझाइ छ । कांग्रेसले शेष दाउद, एमालेले रामेश्वरी बण्डा थारू र माओवादी केन्द्रले पलट चौधरीलाई गुजरा नगरपालिका प्रमुखमा उठाएका छन् ।

यस्तै, फतुवाविजयपुरमा कांग्रेसले गोपाल राई यादव, एमालेले बुधाई खा पैठान र माओवादी केन्द्रले सुरेन्द्र राय यादवलाई मेयर पदमा मैदानमा उतारेको छ । कांग्रेसले चन्द्रनिगाहपुर नगरपालिकाबाट समेत मधेसी समुदायका रामचन्द्र चौधरीलाई मेयरमा प्रतिस्पर्धा गराएको छ । चन्द्रनिगाहपुरमा एमालेले उद्धव रेग्मी र माओवादीले युवराज भट्टराईलाई उम्मेदवार बनाएको छ ।

सकारात्मक सन्देश

शुक्रबारको अन्नपूर्णमा लेखिएको छ, रौतहटका एकजना शिक्षक तथा साहित्यकार सञ्जय साह भन्छन्, ‘यो सकारात्मक सन्देश दिने कदम हो । आफ्नो निहित स्वार्थका लागि राजनीति गर्नेले समाजलाई विभिन्न ट्याग लगाएर विभाजित गरिरहँदा प्रमुख दलहरूको यो कदम सकारात्मक देखिन्छ ।

मिलापको संकेत
रौतहटका अग्रणी समाजसेवी विजयकिशोर झा मधेस आन्दोलनलगत्तै सुरु भएको मधेसी र पहाडीबीचको मतभेद विस्तारै मिलापमा रूपान्तरण हुन लागेको संकेतका रूपमा लिन्छन् ।