अन्तर्राष्ट्रिय

क्यारिबियन क्षेत्रमा आएको खतरनाक आँधीबाट १४ को मृत्यु

वासिङ्टन । क्यारिबियन क्षेत्रमा आएको इर्मा नामको आँधीबाट कम्तीमा पनि १४ जनाको मृत्यु भएको छ ।

शुक्रबार प्राप्त समाचारमा १४ को मृत्यु भएको र आँधी आएको प्रभावित क्षेत्रबाट अन्य १० लाख भन्दा बढी नागरिक भागेका छन् । तटीय क्षेत्र फ्लोरिडा र छिमेकमा पर्ने जर्जियामा दर्जनौँ बर्षपछि आएको यो भीषण आँधीले ठूलो विनास गरेको जनाकारी अमेरिकी संघीय सङ्कटकालीन व्यवस्थापन निकायले दिएको छ ।

यस शताब्दीकै केही शक्तिशाली आँधीमध्ये एक मानिएको इर्माले फ्रान्सको क्यारेबियन टापूमा मात्र आठ व्यक्तिको ज्यान लिएको छ भने आँधीका कारण २३ जना घाइते भएका प्राप्त एक समाचारमा बताइएको छ । रेडियो फ्रान्स इन्फोसँग कुरागर्दै फ्रान्सका गृहमन्त्री जेराडकोलम्बले इर्माका कारण मृत्यु हुनेको संख्या थप वृदि हुनसक्ने बताएका थिए । फ्रान्स र नेदरल्याण्डको साझा टापू सेन्ट मार्टिनको ९५ प्रतिशत भूभाग आँधीका कारण नराम्ररी प्रभावित भएको छ ।

यसैबीच प्राप्त एक अर्को समाचार अनुसार इर्मा आँधीबाट पोर्टो रिकोमा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको एक अधिकारीले बिहीबार जानकारी दिएका छन् । यस आँधीको कारण पोर्टो रिकोमा दुई व्यक्तिको मृत्यु भएको पोर्टो रिको सङ्कटकालीन व्यवस्थापन विभागका अधिकारी कार्लोस एसेभेडो एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । यस समाचारको विस्तृत विबरण भने प्राप्त भएको छैन । सो क्षेत्रमा थप मानवीय क्षति भएको अनुमान गरिएको छ ।

क्यारिबियन क्षेत्रमा ठूलो क्षति पुर्याएको यस आँधीबाट बच्न हाइटी, क्युवा र टेक्सास र केकोस टापूका अधिकारीहरुले प्रयासहरु जारी राखेको जनाएका छन् ।