अन्तर्राष्ट्रिय

म्यानमारका द्धन्द्धपीडितहरुका लागि बंग्लादेशमा कडाई

एजेन्सी । बंग्लादेशको प्रहरीले पछिल्लो तीन सातामा त्यहाँ पुगेका ४ लाखभन्दा बढी रोहिंज्या मुसलमान शरणार्थीहरुको आवतजावतमाथि कडाइ गरेको छ। सरकारले छुट्टाएका निश्चित स्थानहरुमा शरणार्थीहरु बस्नुपर्ने र आफ्ना साथी तथा नातेदारसँग अरु ठाउँमा जान उनीहरुलाई अनुमति नरहेको प्रहरीको वक्तव्यमा जनाइएको छ।

सरकारले कोक्स बजार छेउमा शरणार्थीहरुका लागि आश्रयस्थल बनाइरहेको छ। उक्त शिविरमा ८० हजारभन्दा बढीले आश्रय पाउने बताइएको छ। शरणार्थीको ताँतीले बांग्लादेशका कतिपय भाग भरिभराउ भएका छन्।

बांग्लादेशमा यसअघि नै लाखौं रोहिंज्या मुसलमान आप्रवासी छन्। राष्ट्रसंघले म्यानमार सैनिकले रखाइन राज्यमा गरेको पछिल्लो कारबाही जातीय सफाया सरह हुनसक्ने बताएको छ।

अधिकारवादी समूहहरुले रोहिंज्या गाउँहरुमा म्यानमारको सैनिकले आगो लगाएको आरोप समेत लगाएका छन्। तर सेनाले अतिवादीहरुको आक्रमणको जवाफमात्रै दिइएको र गैरसैनिकहरुलाई निशाना नबनाइएको बताएको छ।