राजनीति

यसकारण बाजी मार्दैछ कांग्रेसले दुई नम्बर प्रदेशमा !

काठमाण्डौ । सोमबार दुई नम्बर प्रदेशमा तेश्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न हुँदैछ । उक्त प्रदेशमा हुने निर्वाचनले यसबेला मुलुकभरकै राजनीतिक परिवेश ह्वात्तै तातेको छ । अघिल्लोपटक भएका पहिलो र दोश्रो चरणको निर्वाचनभन्दा यो निर्वाचन अलि फरक र राजनीतिक समीकरणका हिसावले महत्वपूर्ण पनि देखिएको छ, किनभने लामो समयदेखि मधेसको मुद्धामा केन्द्रीत हुँदै आएको राजपा लगाएका मधेसी दलहरुको सबैभन्दा गढ क्षेत्रको रुपमा चिनिने यो क्षेत्रमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले समेत निकै ठूलो टक्करको सामना गर्नुपर्ने देखिदैछ ।

वास्तवमा दुई नम्बर प्रदेशमा सोमबार हुने चुनावमा कुन पार्टीको मतपरिणाम अघि आउला र कसको प्रभाव बढी होला ? यो विषयमा हामीले निकै सुक्ष्म ढंगले एउटा अध्ययन गरेका छौ । जसलाई नमुना सवेक्षणकै शैलीमा यहाँ प्रस्तुत गरिएको छ । दुई नम्बर प्रदेशमा जम्मा आठ जिल्ला रहेका छन् । त्यसभित्र १ सय ३६ स्थानीय तहहरु रहेका छन् । तीमध्ये हामीले आठ जिल्लाका आठवटा जिल्ला सदरमुकामसँग जोडिएका महानगर, उपमहानगर र नगरपालिकामा कुन पार्टीको उपस्थिति कस्तो रहेको छ र कसले बाजी मार्न सक्छ भन्ने विषयमा केही अध्ययन गरेका छौ । जसले ती जिल्लाको मतभारलाई संकेत गरिदिन्छ ।

पूर्वको राजविराज नगरपालिकादेखि बीरगञ्ज महानगरपालिकासम्म आइपुग्दा नेपाली कांग्रेस, एमाले, राजपा, माओवादी केन्द्र र अन्य मधेसवादी दलहरुकै टक्कर देखिदैछ, त्यसमा पनि नेपाली कांग्रेस र राजपा निर्णायक शक्तिमा देखिने संकेत देखापरेको छ । कुन नगरमा कुन पार्टीको उपस्थिति बलियो छः यस्तो छ पछिल्लो स्थितिः

राजविराज नगरपालिकाः
पूर्वको सबैभन्दा महत्वपूर्ण मानिएको सप्तरीको सदरमुकाम राजविराज नगरपालिकामा राजपा निर्णायक शक्तिको रुपमा देखिएको छ । यहाँ राजपालाई माओवादी केन्द्रले पछ्याएपनि उसले नेपाली कांग्रेसतिर समर्थन संकेत दिएमात्र पनि माओवादीको पत्तासाफ हुनसक्ने आंकलन गरिदैछ । त्यसैले यो नगरपालिकाको मतपरिणामबारे चुनावको अघिल्लो साँझ मात्र आंकलन गर्न सकिने बताइदैछ ।
सिरहा नगरापलिका
सिरहा सदरमुकाममा रहेको सिरहा नगरपालिकामा नेपाली कांग्रेस र एमालबीच टक्कर देखिएको छ । यहाँ दुवै पार्टीले प्राज्ञिक क्षेत्रका उम्मेद्वारहरु उठाएका छन् । नेपाली कांग्रेसले डा.सुभास यादवलाई मेयरको उम्मेद्वार बनाएको छ । डा.यदाव कांग्रेसकी केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवका छोरा हुन् । त्यसैले यहाँ उनको प्रभाव निकै रहेको बताइन्छ । यो नगरपालिकामा कांग्रेसको जित सुनिश्चित जस्तै भएको स्थानीय नेता कार्यकर्ताहरु बताउँछन् ।
धनुषाधाम नगरपालिका
हिन्दुहरुको प्रसिद्ध धार्मिक शहरको रुपमा परिचित जनकपुरसँग जोडिएको धनुषाधाम नगरपालिकामा पनि नेपाली कांग्रेस र एमालेबीच टक्कर हुने देखिएको छ । यो नगरपालिकाका लागि कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि, पूर्वराष्ट्रपति डा.रामवरण यादव लगायतका नेताहरुको जिल्ला भएकोले पनि यहाँ नेपाली कांग्रेसको जित हुने आंकलन गरिदैछ । किनभने यो नगरपालिकामा नेता निधि, कृषिमन्त्री रामकृष्ण यादव, अर्का मन्त्री मेहन्द्र यादव पनि खटिरहेकोले जित सुनिश्चित भएको बताइदैछ ।
जलेश्वर नगरपालिका
महोत्तरीको सदरमुकाम रहेको जलेश्वर नगरपालिकामा भने नेपाली कांग्रेस,एमाले र मेधसी दलहरुको प्रतिस्पर्धा हुने देखिन्छ । मधेसी दल र एमालेले आन्तारिक रणनीति बनाएपनि कांग्रेसका प्रभावशाली नेता अशोक साह मेयरका उम्मेद्वार भएकोले नेपाली कांग्रेसको जित हासिल हुने बताइदैछ । यद्यपि, त्यहाँ एमालेले दलित समुदायबाट मेयरको उम्मेद्वार उठाएकोले कडा चूनौती भने कायमै रहेको बताइएको छ ।
मलंगवा नगरपालिका
सर्लाहीको सदरमुकाम रहेको मलंगवा नगरपालिकामा पनि त्रिपक्षीय भीडन्त देखिने भएको छ । मलंगवामा नेपाली कांग्रेसको जीतको संकेत कसरी पनि देखिन्छ भने राजपाका नेता एमाले प्रवेश गरेपछि उसको शक्ति सबै एमालेसँग चिढिएको छ । राजपाका नेता जंगीलाल यादव केही दिनअघि मात्र एमालेमा प्रवेश गरेका थिए । त्यसैले राजपाको गढ मानिएको सो नगरपालिकामा अब सिंगो राजपाले कांग्रेसलाई जिताउने अभियानमा लागेको बताइन्छ । राजपाले जसरी पनि जंगीलालको साख गिराउने रणनीति अनुरुप नेपाली कांग्रेसलाई सघाउन थालेको बताइन्छ ।
गौर नगरपालिका
यो पटक एमाले नेता माधव नेपालको प्रभावलाई घटाउने उद्धेश्यले रौतहटको गौर नगरपालिकामा नेपाली कांग्रेस र फोरम नेपालले तालमेल गरेका छन् । फोरम नेपालले नेपाली कांग्रेसलाई सघाउने वित्तिक्कै त्यहाँ एमालेको प्रभाव घट्ने र कांग्रेसको पक्षमा पल्लाभारी हुने देखिएको छ ।
कलैया नगरपालिका
कलैया नगरपालिकामा भने नेपाली कांग्रेसका नेताहरुबीच केही आन्तरिक मनमुटावका कारण प्रभाव पर्ने जस्तो देखिएपनि नेपाली कांग्रेसका सांसद राधेचन्द्र यादवको आफ्नो छोरा नै मेयरमा उठेकोले त्यहाँ कांग्रेसको जित हुने देखिदैछ । यद्यपि, त्यहाँ श्रममन्त्री समेत रहेका फरमुल्लाह मन्सुरले असन्तुष्टि जनाएको बताइएको छ । तैपनि त्यहाँ नेपाली कांग्रेसले नै बाजी मार्ने आंकलन गरिदैछ ।
बीरगञ्ज महानगरपालिका
बीरगञ्ज महानगरपालिका राजपाको गढ ठाउँ भएकोले एमालेको प्रभाव कम हुनु स्वाभाविक हो । एमालेको प्रभाव कम भएसँगै बीरगञ्जमा नेपाली कांग्रेसको प्रभाव बढेको बताइन्छ । बीरगञ्जको चुनावी माहोल उत्तारचढावमा रहेकोले त्यहाँको स्थिति आंकलन अहिले गर्न सकिने स्थिति नभएको बताइएको छ । यसरी समग्र रुपमा हेर्दा दुई नम्बर प्रदेशमा नेपाली कांग्रेसको राम्रो प्रभाव देखिएको पुष्टि हुने जानकारहरु बताउँन् ।