अन्तर्राष्ट्रिय

केन्यामा राष्ट्रपतीय निर्वाचनको समयतालिका हेरफेर

एजेन्सी । केन्यामा हुने भनिएको नयाँ राष्ट्रपतीय निर्वाचन पछाडी सारेर अक्टोबर २६ का लागि तोकिएको छ ।  यहाँको निर्वाचन आयोगले पूर्वनिर्धारित मिति परिवर्तन गर्दै नयाँ मिति तोकिएको बिहीबार जानकारी दिएको हो ।

सर्वोच्च अदालतले यसअघिको राष्ट्रपतीय निर्वाचनको नजिता बदर गर्दै पुर्ननिर्वाचन गराउन आदेश दिएपछि केन्यामा फेरी निर्वाचन गर्ने तयारी भइरहेको छ ।

अदालतले हालै भएको राष्ट्रपतीय निर्वाचन त्रुटिपूर्ण र अवैधानिक भएको भन्दै फेरि निर्वाचन गर्न आदेश दिएको थियो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अध्यक्ष डेभिड मारागाले गत अगस्त आठमा भएको राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपतिमा उहरु केन्याटा निर्वाचित भएको घोषणा अनियमित भएको बताएका थिए ।

केन्याको विपक्षी गठबन्धन ‘नेशनल सुपर एलाइन्स‘को तर्फबाट राष्ट्रपति पदका उम्मेदबार बन्नु भएका नेता राईला ओडिङगाले केन्याटालाई विजयी घोषणा गर्नु गलत भएको भन्दै निवेदन दिएका थिए ।

निवेदनमा ओडिङगाले निर्वाचनका बेला निर्वाचन सामग्रीहरुको व्यापक दुरुपयोग भएको र यन्त्रहरु ह्याक गरेर अनियमितता गरिएको आरोप लगाएका छन् ।

अदालतका छ जना मध्ये चार जना न्यायाधीश निर्वाचनमा गलत भएको पक्षमा थिए भने दुई जना निर्वाचनमा त्रुटी नभएको दावी गरेका थिए ।