पु.समाचार

एमाले र माओवादीबीचको सहमतिलगत्तै कांग्रेसले निकाल्यो एक्कासि यस्तो निश्कर्ष

काठमाण्डौ । कांग्रेसका शीर्ष नेताहरूको मंगलबार बसेको अनौपचारिक बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रजातान्त्रिक शक्तिहरूसँग एकता गरी अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालले मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा एमालेलगायत केही दलबीच चुनावी तालमेल हुने जानकारी दिँदै कांग्रेस पनि आफ्नो राजनीतिक चरित्र सुहाउँदा शक्तिसँग एकता गरी अघि बढ्नुपर्ने बताएका थिए।

दाहालको सो आग्रहका साथै एमाले, माओवादी केन्द्र, नयाँ शक्ति पार्टी एकताकै प्रयासमा लागेपछि कांग्रेस लोकतान्त्रिक फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) लगायत दलसँग ‘बृहत् प्रजातान्त्रिक एकता’का साथ अघि बढ्नुपर्ने निष्कर्षमा पुगेको स्रोत बताउँछ।

प्रजातान्त्रिक मोर्चाका साथ निर्वाचनमा जाँदा कांग्रेसलाई कुनै अप्ठ्यारो नपर्ने र वामपन्थी एकता निर्वाचनसम्म पनि नटिक्ने निष्कर्षमा पनि पुगेको स्रोतको दाबी छ।

बुधबारको अन्नपूर्णमा लेखिएको छ, कांग्रेसले यसबारे निर्णय लिन बुधबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ। एमाले–माओवादी–नयाँ शक्ति तालमेलले सत्ता गठबन्धनमा कुनै अप्ठेरो नपर्ने निष्कर्ष पनि कांग्रेस नेताले निकालेका छन्।