राजनीति

कांग्रेस युवानेता गगन थापासामु चुनौती बनेर आउँदैछिन् यी युवती ! यस्तो छ यिनको परिचय

काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता गगन थापा मुलुकको राजनीतिक वृत्तमै चर्चित नाम हो । उनी नेपाली कांग्रेसभित्र मात्र होइन बाहिर पनि उत्तिक्कै चर्चित छन् । बौद्धिक र खरो स्वभावका नेता थापा आगामी मंसिरमा हुन गइरहेको संघीय संसद र प्रदेशसभा निर्वाचनमा सहभागी हुने तरखरमा रहेका छन् ।

प्रदेशसभाका लागि उम्मेद्वार बनेर ३ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने आन्तरिक इच्छा भएपनि नेता थापाको यो इच्छामा आफ्नै पार्टीले बेवास्ता गरेपछि अहिले उनी प्रतिनिधिसभा सदस्यकै उम्मेद्वार बन्ने तयारीमा लागेका छन् ।

नेता थापाले आफ्नै काठमाण्डौ क्षेत्र नम्बर ४ बाट संघीय ससदको उम्मेद्वार बन्ने तयारी गरिरहेका छन् । नेता थापाको यो पृष्ठभूमि र प्रसंग यहाँ किन जोड्न खोजिएको हो भने यसपटक काठमाण्डौ ४ नम्बर क्षेत्रको चुनावी भीडन्त निकै रोमाञ्चक हुने देखिएको छ । यसै क्षेत्रबाट विवेकशील साझा पार्टीकी युवा नेतृ सुबुना बस्नेतले कांग्रेस नेता थापालाई टक्कर दिँदैछिन् ।

राजनीतिक अभियानमा खासै लामो समय नबिताएकी बस्नेतले खारिएका युवा नेता थापासँग टक्कर गर्ने देखिएको छ । साझा विवेकशील पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी बस्नेतलाई सो पार्टीले उनलाई काठमाण्डौ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वारका लागि सिफारिस गरेको छ । उनी सो क्षेत्रबाट उठ्ने करिब निश्चित भैसकेको छ । २६ वर्षीय बस्नेत राजनीतिमा होमिएको ४ वर्ष भयो भने उनी अहिले एमबीए अध्ययनरत रहेकी छन् ।

यस्तो छ उनको वास्तविक परिचय
सुबुना बस्नेत इलाममा जन्मिएकी हुन् । उनी विवेकशील मञ्चको सदस्य हुँदै उनी अहिले विवेकशील साझा पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेकी छन् । चिकित्साक्षेत्र सुधारको माग गर्दै पटक–पटक आमरण अनसन बस्दै आएका प्रा.डा.गोविन्द केसी बचाउ अभियानमा समेत सक्रिय रहँदै आएकी उनी एमबीए अध्ययनरत छात्रा हुन् ।

इलामबाट काठमाण्डौ आई अध्ययनलाई निरन्तरता दिइरहेकी उनले मुलुककै चर्चित युवा नेता गगन थापालाई चुनौती दिँदैछिन् । काठमाण्डौ ४ बाट एमाले नेता राजन भट्टराई पनि उठ्ने तयारी गरिरहेका छन् । नेपाली कांग्रेबाट युवा नेता गगन थापा, एमालेबाट बौद्धिक र कुटनीतिक क्षेत्रका विज्ञका रुपमा चिनिने नेता राजन भट्टराईसँग बस्नेतले प्रतिस्पर्धा गर्दैछिन् ।

यसअघिको स्थानीय चुनावमा विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शना पनि काठमाण्डौ महानगरपालिकाको मेयरको उम्मेद्वारमा उठेकी थिइन् । उनले २३ हजार मत प्राप्त गरेर सबैको मन जितेकी थिइन् ।