राजनीति

गिरिजाप्रसाद र बिपी कोईरालाको राजनीतिक क्षेत्रमा काँग्रेसले जिते न्याय हुन्छ : प्रधानमन्त्री देउवा

इटहरी । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई लोकतान्त्रिक प्रणालीबाट समृद्ध बनाउनका लागि लोकतान्त्रिक गठबन्धन रोज्ने कि वाम गठबन्धन रोजी देशमा साम्यवादी एकात्मक राज्य प्रणाली रोज्ने भनेर निर्णय दिने अवस्था आएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले सुनसरी निर्वाचन क्षेत्र नं २ को दक्षिणवर्ती देवानगञ्जमा पार्टीद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै कम्युनिष्ट शक्ति र लोकतन्त्र पक्षधरबीच राजनीतिक धु्रवीकरण सिर्जना गरेर देशलाई गहिरो सङ्कटमा पार्ने खेल भइरहेको विचार व्यक्त गरे ।

सभापति देउवाले काँग्रेसले जहिले पनि नेपाली जनताको सुन्दर भाग्य र भविष्य निर्माणका लागि आपूmलाई कठोर बलिवेदीमा समर्पण गर्दै आएकाले अहिले पनि जनताले न्यायका पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे ।

नेपालको प्रजातान्त्रिक आन्दोलन र लोकतन्त्रलाई मजबुत पार्ने कार्यमा सुनसरी जिल्लाको महत्वपूर्ण योगदान रहँदै आएको बताउँदै प्रधानमन्त्री देउवाले महामानव बिपी कोइराला र नेता गिरिजाप्रसाद कोइरालाको राजनीतिक कर्मथलो सुनसरीका बासिन्दाले लोकतन्त्रका पक्षमा एक ढिक्का भएर निर्णय दिने विश्वास व्यक्त गरे । प्रधानमन्त्री देउवाले कोशी बाढीको पीडा भुल्न नसकेका सुनसरीवासीलाई राज्यका तर्फबाट न्यायोचित सहयोग पु¥याउन विशेष कार्यक्रम र योजना अघि सारिएको जानकारी दिए ।

सो अवसरमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लामो संघर्षबाट प्राप्त उपलब्धि रक्षाका लागि काँग्रेसले सम्पूर्ण लोकतन्त्र पक्षधरसँग हातेमालो गर्न बाध्य हुनुपरेको छ भने । वरिष्ठ नेता पौडेलले अहिलेको मुख्य मुद्दा नै देशका लागि लोकतन्त्रको रक्षा र नयाँ संविधानको सफल कार्यान्वयन गरी संघीय शासन प्रणाली कसरी मजबुत हुन सक्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बेला आएको बताए ।

सभामा काँग्रेस नेता एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वमन्त्री सीताराम मेहता र पार्टी सुनसरी सभापति राजीव कोइरालालगायतले पनि बोलेका थिए। सो कार्यक्रमपछि प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल आजै साँझ काठमाडौं फर्केका छन् ।