पु.समाचार

यसरी नापिन्छ सगरमाथाको उचाई, नेपालले सुरु गर्यो तयारी

काठमाण्डौ । नेपालले सगरमाथको उचाई आफै नाप्ने तयारीमा लागेको छ । यसअघि भारत र चीनले सगरमाथाको उचाई नाप्न चासो देखाएपनि नेपाल आफैले उचाई नाप्ने तयारी गरेको हो । नापी विभागको एक टोली उचाई नाप्नका लागि खट्ने जनाइएको छ ।

नेपाल आफैंले सगरमाथाको उचाई नाप्न करिब २ वर्ष लाग्ने नापी विभागका एक अधिकारी बताउँछन् । त्यसका लागि करिब सय जना जनशक्तिको आवश्यकता पर्ने समेत बताइएको छ । अब लगत्तै नापको काम सुरु गर्ने तयारीमा विभाग रहेको बताइएको छ ।

नेपालमा केही वर्षअघि गएको भूकम्पका कारण हिमालहरुको उचाई बढेको अनुमान भैरहेका बेला सगरमाथाको उचाई नाप्न लागिएको छ । नापी विभागको एक टोली सगरमाथाको चुचुरोमै पुगेर त्यसको तयारी गर्ने समेत बताइएको छ । यदि सरकारी कर्मचारीहरु सगरमाथा चढ्न नसक्ने भए, शेर्पाहरुलाई तालिम दिएर त्यसको तयारी गर्न समेत विभाग लागेको छ ।

सगरमाथाको उचाई नाप्न करिब २ करोड बजेट लाग्ने अनुमान गरिएको छ । छिमेकी मुलुक वा तराईको भूमिलाई आधार मान्दै चुचुरो सम्मको उचाई नापिने विभागका एक कर्मचारी बताउँछन् ।

यसअघि बेलायतको एक संस्थाले सगरमाथाको उचाई नापेको थियो । उसले दिएको आँकडाअनुसार सगरमाथाको उचाई अहिले ८ हजार ८ सय ४८ मिटर रहेको छ ।