राजनीति

प्रमुख आयुक्त यादव काँग्रेसको निर्देशनमा चलेको भन्दै एमाले क्रुर, आयोगसँग दुरी बढ्दै !

काठमाण्डौ । नेकपा एमालेका सचिव शंकर पोखरेलले निर्वाचन अयाोगले भर्खरै सम्पन्न निर्वाचनको परिणाम घोषणा नगरी बसेको भन्दै व्यापक असन्तुष्टी जनाएका छन् ।

पूर्वसञ्चारमन्त्रीसमेत रहेका पोखरेलले निर्वाचन आयोग आफ्नै अयोग्यताले काँग्रेसको चक्रब्यूहमा फसेको आरोप लगाए । सोमबार सामाजिक सञ्जाल ट्विटरमा सचिव पोखरेलले सरकारले माघ ७ गतेसम्म प्रदेश प्रमुख नतोके राष्ट्रिय सभाको चुनाव हुनेमा आशंका व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख नतोकी निर्वाचन आयोगले आफ्नो गल्ती सुधार्दै चक्रब्यूहबाट निस्कन सक्ला भन्दै प्रश्न उठाएका छन् ।

‘डेढ महिनाअघि सम्पन्न निर्वाचनको परिणाम घोषणा नगरी बसेको निर्वाचन आयोग आफ्नै अयोग्यताले कांग्रेसी षड्यन्त्रको चक्रब्यूहमा फस्दैछ । माघ ७ गते अगावै प्रदेश प्रमुख नतोकिँदा राष्ट्रियसभाको निर्वाचन हुननसक्ने स्थिति छ । के निर्वाचन आयोग आफ्नो गल्ती सुधार्दै चक्रब्यूहबाट निस्कन सक्ला ?’, उनले भनेका छन् ।

प्रदेश नम्बर पाँचबाट मुख्यमन्त्रीका प्रवल दाबेरदारसमेत रहेका एमाले प्रभावशाली युवा नेता पोखरेलले निर्वाचन आयोगले, सरकारले प्रदेश प्रमुख नियुक्त नगरे राष्ट्रियसभा गठनको मिति लम्बिन सक्ने दाबी गरेपछि प्रतिक्रिया स्वरुप उक्त अभिव्यक्ति दिएका हुन् ।

निर्वाचन अगाडिदेखि नै नेकपा एमालेले आयोगको कामप्रति असन्तुष्टी जनाएको भए पनि पछिल्लो समयमा भएका यस्ता जिम्मेवार नेताका टिप्पणीले मुलुकको पहिलो ठुलो दल एमाले र निर्वाचन आयोगबीचको दुरी अझै बढ्ने संकेत देखिएको छ ।

संसदको ठुलो दलमा खुम्चिएको नेपाली काँग्रेसलाई भने नेकपा एमाले र निर्वाचन आयोगबीच भएको खटपटले राजनीतिक फाइदा पुग्ने देखिन्छ । यसको अलावा देउवा सरकारको आयू अझै लम्बिने र वाम गठबन्धनसमेत धरापमा पर्ने हो की भन्ने राजनीतिक अड्कलबाजी गर्न सकिन्छ ।