राजनीति

देउवालाई वामदेवले ‘नकचरो’ भनेपछि काँग्रेस नेताले दिए खरो अभिव्यक्ति !

काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिमाथि कडा टिप्पणी गरेका छन् ।

कार्यबाहक अध्यक्षसमेत रहेका गौतमले देउवालाई नकचरो भन्दै गाली गरेका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘नकचरो भएपछि जे पनि भन्दा रहेछन् ।’

केही समयअगाडि एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कसैको पनि स्पष्ट बहुमत आएको छैन, सत्ता छाड भन्न लाज लाग्दैन भन्दै एमालेको चर्को विरोध गरेका थिए ।

गौतमले एमाले–माअ‍ोवादी मिलेर सरकार चलाउ र काँग्रेस प्रतिपक्षमा बस भनेर जनादेश प्राप्त भए पनि काँग्रेसले एमाले–माओवादीको गठबन्धन टुटाएर आफ्नो समर्थनमा सरकार चलाउने खेलेमा लागेको आरोप लगाए ।

‘डुबिरहेको मानिसले बाँचिन्छ कि भनेर खरको त्यान्त्रो समात्छ’ भने जस्तै काँग्रेस पनि वाम गठबन्धन टुटाउन सकिनछ कि भनेर लागेको आरोप लगाए ।

‘आयु पुगेको प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभयो– कसको बहुमत आएको छ ? बहुमत लिएर आउनुस् । बहुमत त आइसक्यो ।’

उनले काँग्रेस नेताहरुले नै सराप दिएको वाम गठबन्धनलाई जनताले बरदान दिएर बहुमत आएको दाबी गरे ।

‘यो प्रधानमन्त्रीलाई थाहा छैन र ? तर, नकचरो भएपछि लाज, समाप्त भएपछि जे पनि भन्दा रहेछन्’, उनले भने ।

०६४ सालको चुनावपछि पनि काँग्रेसले चार महिना सरकार नछाडेको भन्दै अब जति सत्ता लम्ब्याउँ त्यत्ति नै देउवा नांगिने बताए ।

‘जति लम्ब्याउनुहुन्छ, उहााको शरीरको कपडा त्यति बाहिर जाादैछ’ उनले भने, अन्तिममा कांग्रेसले सभापति शेरबहादुर देउवालाई एउटा पनि कपडा नभएको नाङ्गै बनाउनेछ । निर्वस्त्र शेरबहादुर देउवा १ अरु केही परिणाम आउने छैन ।’

उनले वाम गठबन्धनलाई सरकार बन्न नदिए आफैं प्रतिनिधिसभा बैठक बोलाउने चेतावनी दिए । सरकार बर्खास्त गर्छौ र जनताका प्रधानमन्त्रीलाई सिंहदरबारमा राख्छौं’ उनले भने ‘तिम्रो हिम्मत छैन, तिमीले सोध्न सक्दैनौं । हामी त सबै सोच्छौं ।’

नेपाली काँग्रेसका नेताहरु भने वामदेव जस्तो जिम्मेवार व्यक्तिले नकचरो जस्ता असभ्य शब्द प्रयोग गर्नाले राजनीतिलाई नै धमिल्याउने हुँदा उक्त शब्द फिर्ता लिन आग्रह गरेका छन् । यस भनाईबाट काँग्रेस र एमालेबीचको दूरी अझै बढ्ने देखिन्छ ।

राजनीतिको जिम्मेवार व्यक्तिले सभ्य भाषा प्रयोग गरेर आफूलाई सम्मानित व्यक्तित्व बनाउन काँग्रेस नेताहरुले सुझाव दिएका छन् । आइन्दा यस्ता तुच्छ अभिव्यक्ति नराम्रो परिणाम भोग्नूपर्ने चेतावनीसमेत दिइएको छ ।