पु.समाचार

कान्तिपुरका पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही

काठमाडौँ । नेपाल पत्रकार महासंघले ‘कान्तिपुर दैनिक’का गोरखा जिल्ला संवाददाता सुदीप कैनीमाथि साङ्घातिक आक्रमण गर्नेलाई कारबाहीको माग गरेको छ ।

आज महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी समाचार संकलनका क्रममा कैनीमाथि भएको आक्रमणले प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

महासंघ गोरखा शाखाका अनुसार, गोरखा र तनहुंको सीमानामा पर्ने मस्र्याङ्दी नदी किनारमा बिना टेण्डर बालुवा उत्खनन गरिएको समाचार संकलन गर्ने क्रममा सोमबार त्यहाँ पुगेको बेला बालुवा उत्खनन गरिरहेको समूहले पत्रकार कैनीमाथि आक्रमण गरेका हुन् ।

आक्रमणबाट महासंघका सभासद् कैनीको घाँटीमा चोट लागेको भने क्यामरा र मोबाइल तोडफोड भएको छ । महासंघले पीडित पत्रकारको उपचारको व्यवस्था मिलाउन र क्षति भएको उपकरणको क्षतिपूर्ति दिलाउन सम्बन्धित पक्षसँग माग समेत गरेको छ ।

“समाचार संकलनका क्रममा रहेका पत्रकार माथि सांघातिक आक्रमण गर्नु र सञ्चार उपकरण फुटाउने घटना, पत्रकारले स्वतन्त्रतापूर्वक समाचार संकलन र सम्प्रेषण गर्न पाउने संबैधानिक र कानुनी अधिकार माथिको आक्रमण हो”–विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।