राजनीति

प्रदेश प्रमुखको शपथ ग्रहण आज, समानुपातिक सांसदका लागि पनि आयोगले तोक्यो यस्तो समय

काठमाण्डौ । सरकारले नियुक्त गरेका सातवटै प्रदेशका प्रमुखले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार अपराह्न ३ देखि ४ बजेका बीचमा उनीहरुको नियुक्ति र शपथ ग्रहण सँगसँगै गर्ने तयारी भइरहेको छ ।

सरकारले बुधबार नै प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । बिहीबार सार्वजनिक बिदा परेकाले शपथग्रहण शुक्रबारलाई सरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश–१ मा डा गोबिन्द सुब्बा, प्रदेश–२ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश–३ मा अनुराधा कोइराला, प्रदेश–४ मा बाबुराम कुँवर, प्रदेश–५ मा उमाकान्त झा, प्रदेश–६ मा दुर्गाकेशर खनाल र प्रदेश–७ मा मोहनराज मल्ललाई नियुक्त गरेको थियो ।

त्यस्तै निर्वाचन आयोगले पनि प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचित भएका २२० सांसद्लाई आज निर्वाचित भएको प्रमाणपत्र दिँदैछ ।

बिहान १० बजे आयोग परिसरमा आयोगले उपस्थित भएसम्मका सबै निर्वाचित सांसद्लाई प्रमाणपत्र दिनेछ । बुधबार निर्वाचित भएको घोषणा गरेसँगै प्रमाणपत्र बुझ्नका लागि आयोगले सम्वन्धित उम्मेदवारलाई सूचित गरिसकेको छ ।

प्रदेश प्रमुख नियुक्त नभएको भन्दै आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेको एक महिनापछि निर्वाचित सदस्यलाई विजयी प्रमाणपत्र दिन लागेको हो । प्रमाणपत्र हस्तान्तरण गरेपछि आयोगले प्रदेशसभातर्फको सम्पूर्ण निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाउनेछ ।

प्रदेश प्रमुखले प्राप्त निर्वाचन परिणाम अनुसार प्रदेश सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ । सोभन्दा पहिले संसद्को अधिवेशन आह्वान हुनेछ ।