राजनीति

नवराज सिलवाललाई खोज्न प्रहरीको विशेष टोली ललितपुरको भट्टेडाँडामा, यसरी फस्दैछन् सिलवाल !

काठमाण्डौ । पूर्व डिआईजी एवं नेकपा एमालेका नवनिर्वाचित सांसद नवराज सिलवाललाई खोज्न ठुलो संख्यामा प्रहरी परिचालित भएका छन् ।

बढुवाका लागि कार्यसम्पादन मूल्याङ्कन(कासमु) किर्ते गरेको अभियोगमा छानविन गर्न खोजेदेखि नै फरार रहेका भनिदै आएका सिलवाललाई खोज्न प्रहरीहरु ल्लितपुरको भट्टेडाँडामा रहेको जानकारी पाएको भन्दै त्यहाँ पुगेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दले करिब एक सय पचास प्रहरी परिचालन गरेर सिलवालको सर्च भइरहेको बताए ।

सिलवालले केही अन्र्तवार्ताहरुमा आफू ललितपुरको भट्टेडाँडामा नै रहेको र बाहिर भागेको भन्ने हल्ला निराधार भएको बताएका थिए । प्रहरीले त्यसैलाई आधार मानेर खोजी कार्य तिव्र बनाएको छ । अब उनलाई कुनै पनि हालतमा प्रहरीले नछाड्ने बताएको छ ।

प्रहरी प्रमुख चयनको चर्चित काण्डमा जोडिएका सिलवाल हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट सांसद निर्वाचित हुन् ।

सर्वोच्च अदालतले सिलवालले कामसू कीर्ते गरेको र त्यसबारे अनुसन्धान थाल्न निर्देशन दिएपछि काठमाण्डौ प्रहरीले उनलाई खोज्न थालेको थियो। सिलवालसँग सोधपुछ र बयान लिनुपर्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरलाई काठमाण्डौ प्रहरीले गत पुस १८ गते पत्राचार गरेको थियो । तर, प्रहरी परिसर ललितपुरले सिलवालको ठेगानामा उनी नभेटिएको भन्दै पत्राचार गरेको थियो ।