राजनीति

राष्ट्रियसभाको चुनाव सम्पन्न भएपछि सरकार छोड्छौंः अर्थराज्यमन्त्री राणा

काठमाण्डौ । अर्थराज्यमन्त्री उदयशमशेर राणाले व्यवसायी अजेयराज सुमार्गीको सम्पत्तिको बारेमा गरिएको छानबिन दोस्रो चरणमा पुगेको बताएका छन् ।

मन्त्री राणाले अर्थ मन्त्रालयले पहिलो चरणको अनुसन्धान सम्पन्न गरेर दोस्रो चरणको छानबिनका लागि अन्तराष्ट्रिय संस्थासँग समन्वय गर्न लागिएको बताएका छन् ।

आइतबार राजधानीमा भएको एक साक्षात्कारमा बोल्दै मन्त्री राणाले सुमार्गीले विदेशबाट अवैध रुपमा नेपालमा पैसा ल्याएको भन्ने विषयमा नेपालमा मात्रै अनुशन्धान गरेर सबै कुरा पत्ता लगाउन नसकिएको बताए ।

उनले भने,“नेपालमा मात्रै अनुुुसन्धान गर्न सकिँदैन । विदेशी संस्था र बैँकसँग पनि समन्वय गर्नुपर्छ । त्यो चरण सुरु भएको छ ।” मन्त्री राणाले भने,“प्रि–इन्भेष्टिगेशन सकिएको छ । अब इन्भेष्टिगेशनमा जाने प्रक्रियामा छौं ।”

अनुसन्धानका क्रममा सुमार्गीले कहाँबाट कसरी पैसा ल्याएर र उक्त पैसा कहाँ लगानी भएको छ भन्ने कुराको विषयमा अनुसन्धान भईरहेको राणाले बताए । मन्त्री राणाले भने,‘ मैले आज सरकारको तर्फबाट आधिकारिक दृष्टिकोण सार्वजनिक गरेको छु, सरकारको तर्फबाट पहिलो पटक बोलेको छु, छानबिन दोस्रो चरणमा पुगेको छ।’

सुमार्गीले स्रोत नखुलेको अरबौँ रकम नेपाल ल्याएको र अझै मोटो रकम भित्र्याउन प्रयासमा रहेको आरोप लाग्दै आएको छ ।

फरक प्रसंगमा मन्त्री राणाले कांग्रेसले सत्ता छोड्न नमानेको भन्ने आरोपको खण्डन गरे । संविधानअनुसार प्रक्रिया पूरा गरेपछि सरकार हस्तान्तरण हुने राणाको भनाई थियो ।

संविधानअनुसार प्रक्रिया र जिम्मेवारी छोडेर सरकार छाड्दा अन्यौलता सिर्जना हुने भएकाले राष्ट्रियसभाको चुनाव सम्पन्न भएपछि सरकार छोडिने राणाले बताए ।

वाम गठबन्धनका कारण नै कांग्रेसले चुनाव हारेको भन्दै राणाले केन्द्रिय समिति बैठकमा चुनावी समिक्षा सुरु भएको बताए । केन्द्रिय समितिमा समिक्षा गरेपछि महासमिति बैठक बसेर पराजयको समिक्षा हुने राणाको भनाई छ ।