मनोरञ्जन

रोशन सर निकै ह्याण्डसम हुनुहुन्थ्यो, निकै रमाइलो लाग्थ्योः नायिका शर्मा

काठमाण्डुौ । अहिलेकी चर्चित नायिका पूजा शर्मा सानोमा निकै चकचके थिइन् । युकेजीदेखि नै होस्टल बस्दै आएकी पूजा अहिले पनि होस्टलको प्रसंग सम्झेर रोमाञ्चित हुन्छिन् कस्तो थियो त पूजाको बाल्यकाल, आउनुहोस् हामी पनि जानौँः

सानोमा मलाई हजुरआमाले ‘सम्झना’ भन्ने गर्नु हुन्थ्यो । ‘पूनम’ भनेर पनि बोलाउनु भयो । चलचित्र क्षेत्रमा आएपछि भने मेरो नाम ‘पूजा’ नै भयो । म युकेजीदेखि नै होस्टल बसेँ । मसँग होस्टेलका धेरै अनुभव छन् । सानो वेलामा होस्टेलमा बसेको कारण बाहिरी कथा थोरै छन् । म होस्टलमा एकदमै बदमास थिएँ । निकै चकचक गर्न मन लाग्थ्यो । स्कुलमा ग्याङफाइट पनि बबाल नै हुन्थ्यो । मेरो वानी साथीलाई ज्यान दिने खालको थियो ।

एउटा घटना अहिले पनि सम्झना छ । स्कुलमा हामी लुकामारी खेल्थ्यौ । लुक्नेक्रममा जहाँ पनि गइन्थ्यो । एक पटक कौशीमा झ्याल बाहिर टपमा लुकेको थिएँ । साथीले देखी भनेर लुक्न खोज्दा तीन तला माथिबाट भुइमा खसेँ । मेरो टाउको फुट्यो, गिजा र दाँतै चर्कियो । अहिले पनि दाग छ । त्यसरि लडेपछि होस्टलका सरहरुले गाली गर्नुहुन्छ भनेर चुपचाप बस्यौं । साथीहरुले टाउकोमा लागेको रगत पुछिदिए । म आफ्नै रुममा बसेँ । मुख दुखेर बोल्नै नमिल्ने भयो । ५–६ दिनपछि हनहनी ज्वरो आएपछि थाह भयो । अस्पतालमा धेरै दिन बस्नु पर्‍यो ।

होस्टेलमै भएकाले बाहिर जान पाइने त कुरै भएन । तर, पनि हामी बाहाना बनाएर क्लास बंक गथ्र्यौ । टाउको दुख्यो, पेट दुख्यो भनेर बहाना बनाएर रुममा खेलेर बस्थ्यौ । खेलेर बस्न पाउँदा निकै रमाइलो लाग्थ्यो । रोशन सर भन्ने निकै ह्याण्डसम हुनुहुन्थ्यो । उहाँ पढाउन आउँदा हामी निकै ध्यान दिएर पढ्थ्यौं । मन नपर्ने सरहरु आउदासर्टमा मसी छर्किदिन्थ्यौं । सरहरुले थाहा नै पाउनुहुन्नथ्यो । भोलीपल्ट कसले यस्तो गर्यो भन्दै आउथे ।

स्कुलमा रोकेर राखेको बसको छतमा चढ्नेदेखि जे पनि गथ्र्यौ । होस्टेलको खाना मिठो लाग्दैन थियो । हाम्रो भागमा दुइपिस चिकेन आउथ्यो । आफ्नो भागमा राम्रो पीस आएन भनेर साथीको भागको खुसुक्क साट्थेँ । तितौरा निकै मनपथ्र्यो । पालेदाइलाई पैसा दिएर किन्न पठाउथ्यौं । मुखै रातो हुने गरी तितौरा खाएको मलाई याद छ । चकचक धेरै गरेकै कारण सरहरुले निकै पिट्नु भएको छ । क्लासरुमको ढोकैमा स्टिक हुन्थ्यो । चकचक गरे पनि होमवर्क भने म नियमित नै गर्थेँ ।

बर्थ डेको वेलामा घरमा जान्थेँ । ममी केक काट्नलाई ठिक्क परेर बस्नुहुन्थ्यो । म भने बल्ल बल्ल होस्टलबाट निस्कन पाउने भएकाले टोलभरिका साथीहरुलाई भेट्दै जम्मा पार्दै बेलुका ७ बजेतीर घर पुग्थेँ । मम्मीले पहिला मलाई झाडु हान्नुहुन्थ्यो अनि मात्रै केक काट्न लाउनुहुन्थ्यो । एक पटक दसैंमा मामाघर सिन्धुपाल्चोक गएको थिएँ । मामाघरमा रोटेपिङ थियो । त्यो पिङ हाम्रो हजुरबाको आदेशपछि मात्रै खोल्न पाउने नियम थियो ।

मुखियाको नातीनी कसले गाली गर्छ र भन्दै गएँ । पीङमा बसेको मात्रै थिएँ, आफै हल्लीन थाल्यो । एक्लै बसेर खेल्नै नमिल्ने पिङ रहेछ । म लडेँ, मुखबाट रगत आयो । अरु साथीहरु आए र उठाए । एकछिन पछि ममी आउनु भो र त्यस्तो बेलामा पनि कुट्नु भयो । निकै रमाइलो थियो मेरो बाल्यकाल । अहिले संझदा पनि रोमाञ्चक लाग्छ मेरो बाल्यकाल।