पु.समाचार

मास्कमाण्डु–३ अभियानमा उत्साहपूर्ण सहभागिता

ललितपुर । वायु प्रदूषणको विरुद्धमा साझा संकल्प लिने प्रयत्नका साथ सञ्चालन भइरहेको ‘मास्कमाण्डु–३’ अभियानलाई सर्वसाधारणले साथ दिएका छन् । यस अभियानमा युवा, शैक्षिक संस्था, आमनागरिक, वातावरणविद् तथा समाजका अग्रणीहरुको उत्साहपूर्ण सहभागिता बढ्दै गएको छ ।

गत माघ २५ गतेदेखि साताव्यापीरुपमा सञ्चालन गरिएको यस अभियानअन्तर्गत उपत्यकाका विभिन्न चोकहरुमा स्वच्छ हावाको लागी श्रृंखलाबद्ध सांकेतिक प्रदर्शन गरिएको छ । हालसम्म चावहिल, कोटेश्वर, सातदोबाटो, कलंकी र माइतीघरमा सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको स्वच्छ ऊर्जा नेपालका प्रवन्ध निर्देशक राजन थापाले जानकारी दिए ।

बिहान ९ः०० देखि ९ः३० बजेसम्म वायु प्रदूषणसम्बन्धी जानकारीमूलक सन्देश र नारा लेखिएका ब्यानर, प्लेकार्डसहित मूलचोकमा उभिएर सहभागीहरुले सफा र स्वच्छ काठमाडौँ बनाउनका लागि सर्वसाधारणलाई उत्प्रेरित गर्दैै दायित्वबोध गराउने गरेका छन् ।

नेपालको संविधान २०७२ को धारा ३० मा उल्लेख भएअनुसार स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको सुनिश्चितता माग गर्ने अभियानको रुपमा यस अभियानलाई लिइएको निर्देशक थापा बताउछन् ।

सन् २०१६ र २०१७ मा मास्कमाण्डु पहिलो र दोस्रोपछि वायुको गुणस्तर सुधारका लागि केही नीतिगत व्यवस्था भएपनि वायु प्रदूषण र यसको असर झन् विकराल बन्दै गएको हुँदा सचेतनाका लागि ‘मास्कमाण्डु–३’ को अभियानको आयोजना गरिएको उनको भनाइ छ ।
‘मास्कमाण्डु–३’ अभियानले शहरको वायुको गुणस्तर सुधार गर्न र प्रत्येक व्यक्तिले आफ्नो स्वच्छ हावाको अधिकार सुनिश्चित गर्न आ –आफ्नोस्तरबाट जिम्मेवारी लिन र दृढ भएर लाग्न अनुरोध गरेको छ ।

आगामी फागुन २ गते भृकुटीमण्डपबाट रत्नपार्कसम्म बृहद् ¥याली र प्रदर्शनीका साथ यस अभियानको समापन हुने बताइएको छ ।