काठमाडौँ । नेपाली सेनाका रथी बलदेवराज महत (अवकाश प्राप्त) को हास्यव्यङ्ग्य सङ्ग्रह ‘फाइदै फाइदा’ को आज यहाँ विमोचन गरियो ।
सत्याल पब्लिकेसन एण्ड डिष्ट्रिब्युटर्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकमा रहेका १३ हास्यव्यङ्ग्य माला सबै निबन्ध विधामा लेखिएका छन् । महतका यसअघि ‘अपूरो माया’ र ‘तिर्सना’ कथा संग्रह प्रकाशन भईसकेका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति डा गंगाप्रसाद उप्रतीले सो पुस्तकको विमोचन गर्दै पेशासँगै पदीय मर्यादामा रहेर आफूभित्रको अतिरिक्त प्रतिभा प्रस्फुटन गर्न सक्नु स्रस्टा महतको जीवनको सफलता हो भने ।
प्रत्येक व्यक्तिले जीवनकालका आफ्ना अनुभव प्रकाशन गर्दा भावी पुस्ताका लागि योगदानसमेत हुने उनले बताए ।
पुस्तकको भूमिका लेख्नुभएका साहित्यकार प्राध्यापक मोहनराज शर्माले प्रस्तुत सँगालोमा हास्यभन्दा व्यङ्ग्यलाई बढी महत्व दिईएको बताउँदै प्रत्येक रचनाका माध्यमबाट जीवनका कटु एवं विकृत पक्षलाई स्पर्शी रुपमा प्रस्तुत गरिएको विचार व्यक्त गरे ।
लेखक महतले नेपाली सेनामा ३८ वर्ष सेवाका क्रममा सेवासँगै साहित्यिक लेखनका अनुभवको चर्चा गर्दै पुस्तकमा हास्यव्यङ्ग्यमार्फत सामाजिक विकृति औँल्याइएको बताए ।
कार्यक्रममा प्रकाशनका अध्यक्ष अजयकुमार सत्याल, कवि खेमलाल पोखरेल, साहित्यकार क्षितिज भण्डारी, पत्रकार शंकर कार्की लगायतले सरल भाषा र मीठो शैलीमा सामाजिक विकृति औँल्याएका यो कृतिले पाठकलाई मनोरञ्जनसमेत दिन सफल हुने विश्वास व्यक्त गरे ।
