समाचार

सैनिक कमाण्ड तथा स्टाफ तालिम शुभारम्भ

काठमाण्डौ । काठमाण्डौको शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा वैशाख ०३ गते सि.सं.२५ कमाण्ड तथा स्टाफ तालिमको बलाध्यक्ष रथी हेमन्त राज कुँवरले एक विशेष समारोहकाबीच शुभारम्भ गरेका छन् ।

उक्त कार्यक्रममा बलाध्यक्ष रथी कुँवरले कमाण्ड तथा स्टाफ तालिममा सहभागी शिक्षार्थी अधिकृतहरुलाई सफलताको लागि शुभकामना दिँदै उक्त तालिमले जटिल तथा चुनौतीपूर्ण सुरक्षा अवस्थाहरुको मूल्याङ्कन गर्न, योजना बनाउन र कार्यान्वयन गर्ने क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रमको शुभारम्भमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी प्रल्हाद थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

उक्त तालिममा नेपाली सेनाका तर्फबाट पहिलो पटक एक जना महिला सहित ४९ अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १/१ गरी ३ अधिकृतहरुलगायत मित्रराष्ट्र बङ्गलादेश, भारत, लेवनान, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिकाका १÷१ र चीनबाट २ गरी १० विदेशी शिक्षार्थी सहित जम्मा ६२ जना अधिकृतहरु सहभागी भएका छन् ।

सैनिक कमाण्ड तथा स्टाफ तालिम मध्यम तहका अधिकृतहरुको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न सञ्चालन गरिने महत्वपूर्ण तालिम हो । वि.सं.२०४९ पौष १४ गते स्थापना भएको उक्त कलेजले वि.सं.२०५० भाद्र २० गतेदेखि पहिलो पटक १२ जना शिक्षार्थी अधिकृतहरु समावेश गरी कमाण्ड तथा स्टाफ तालिम सञ्चालन गरेको थियो । हालसम्म नेपाली सेनाबाट ८१५, विभिन्न मित्रराष्ट्रहरुका ६३, नेपाल प्रहरीबाट ९, सशस्त्र प्रहरी बलबाट २३, राष्ट्रिय अनुसन्धान विभागबाट १२ र रक्षा मन्त्रालयबाट १ गरी जम्मा ९२३ जना शिक्षार्थी अधिकृतहरुले सफलतापूर्वक उक्त तालिम सम्पन्न गरी सकेका छन् ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, नेपाली सेनाका रथीवृन्द, त्रि.वि.का पदाधिकारी, पूर्व शिक्षाधिकृतहरु, नेपालस्थित विदेशी कुटनीतिक नियोगका सैनिक सहचारीहरु तथा नेपाली सेनाका अधिकृतहरुको उपस्थिति रहेको थियो ।