राजनीति

युवा संघको केन्द्रीय कमिटीको बैठक शुरु

काठमाडौँ । आगामी महाधिवेशनको मिति तय लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) निकट युवा संघ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि शुरु भएको छ ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुरु भएको बैठकमा संघको आगामी महाधिवेशन, समीक्षा, बिदाइ र मनोनयनलगायत कार्यसूची रहेको संघका प्रवक्ता प्रभातविक्रम कटवालले जानकारी दिए ।

आन्तरिक विवाद र विभिन्न निर्वाचनका कारण संघको केन्द्रीय कमिटी बैठक डेढ वर्षपछि मात्र बसेको हो ।

बैठकको उद्घाटन गर्दै एमाले पोलिटब्युरो सदस्य एवं संघका इञ्चार्ज महेन्द्रबहादुर पाण्डेले वाम गठबन्धनको घोषणापत्रबमोजिम विकास र समृद्धिको यात्रामा संघ सहयोगी हुनुपर्ने बताए ।

संघका अध्यक्ष राजीव पहारी प्रदेश नं ४ को प्रदेश सदस्यमा निर्वाचित भएपछि नेतृत्व हस्तान्तरणबारे पनि बैठकमा छलफल हुन लागेको हो ।

अध्यक्ष पहारीले एमाले र नेकपा (माओवादी केन्द्र) सँगको एकतापछि संघ र योङ कम्युनिष्ट लिगबीचको एकताका लागि तयार रहन आग्रह गरे । उनले आन्तरिकरुपमा एकमना एकताका साथ अघि बढ्न पनि आग्रह गरे ।

संघका पूर्वअध्यक्ष केशव स्थापित, महेश बस्नेत, निरु पालले पनि बैठक सफलताको कामना गरे । बैठक भोलिसम्म बस्नेछ ।