खेलकुद

राष्ट्रिय आर्चरीः पोखराकी केशरीलाई स्वर्णपदक

काठमाडौँ । लक्ष्मणकुमार श्रेष्ठ स्मृति पाँचौँ राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको महिला व्यक्तिगत रिकर्भमा कास्की आर्चरी क्लब पोखराकी केशरी आले मगरले आज स्वर्णपदक हात पारेकी छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा भएको अन्तिम खेलमा केशरीले राष्ट्रिय च्याम्पियन नेपाल आर्मीकी आइशा तामाङलाई ६–५ ले पराजित गर्दै स्वर्णपदक हात पारेकी हुन् ।

निर्धारित समयमा खेल ५–५ को बराबरीमा टुंगिएको थियो । त्यसपछि दुवैलाई १–१ तर्फ हान्न लगाइएकामा केशरीले अधिकतम १० अंक जोडिन् । आइशाले भने ९ अंक प्राप्त गरिन् । प्रतियोगतामा आर्मीकै ज्ञानु अवालेले तेस्रो भइन् ।

नेपाल आर्चरी संघद्वारा आयोजित प्रतियोगितामा पुरुष व्यक्तिगत रिकर्भमा आर्मीका रोशन नगरकोटी पहिलो भए । उनले फाइनलमा टे«डिसनल आर्चरी क्लबका लक्ष्मण पुनलाई ६–४ ले हराए । आर्मीकै प्रेम विक तेस्रो भए ।

पुरुष व्यक्तिगत स्ट्यान्डर्डमा आर्मीका नवीन गुरुङ पहिलो भए । उनले फाइनलमा ट्रेडिसनलका प्रेमकुमार भट्टचनलाई ७–३ ले पाखा लगाए । वेस्ट आर्चरीका नवीनवीर बस्नेत तेस्रो भए ।

सोहीे स्पर्धाको महिलामा अर्चना थापा मगरले फाइनलमा सेलिना गुरुङलाई ६–२ ले निराश पार्दै स्वर्ण जितिन् । शर्मिला गुरुङले काँस्य हात पारिन् । शीर्ष तीन स्थान हात पार्ने सबै अन्नपूर्ण आर्चरी क्लबका हुन् ।

पुरुष व्यक्तिगत कम्पाउन्डमा वेस्टका प्रजीत अग्रवाल च्याम्पीयन बने । उनले फाइनलमा राजधानी दैनिकका सनातन मल्लको चुनौती १३७–१३१ ले समाप्त पारे । स्वयम्भू रिक्रिएसन सेन्टरका रमेश भट्टचने तेस्रो बने ।

पुरुष स्ट्यान्डर्ड टिम इभेन्टमा वेस्ट पहिलो, अन्नपूर्ण दोस्रो र आर्मी तेस्रो भए । पुरुष रिकर्भ टिममा आर्मीले स्वर्ण, ट्रेडिसनलले रजत र कास्कीले काँस्य हात पारे ।

विजेतालाई प्रतिनिधिसभा सदस्य एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, आर्चरी संघका अध्यक्ष दीपककुमार गुरुङ, महासचिव रमेश शिवाकोटीलगायतले पुरस्कार प्रदान गरे । दुईदिने उक्त प्रतियोगितामा ५५ खेलाडीले सात स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

नेपालमा पहिलो पटक राष्ट्रियस्तरको बागचाल
मौलिक खेलको प्रवद्र्धन गर्ने उदेश्यले नेपालमा पहिलो पटक राष्ट्रियस्तरको बाघचाल प्रतियोगिता हुने भएको छ ।

प्रगतिवादी युवा समाज नेपालको आयोजनामा आगामी साउन ११ र १२ गते काठमाडौँको बसुन्धारास्थित चन्द्रविन्दु स्कुलमा खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न जिल्लाका स्कुल तथा कलेजका साथै व्यक्तिगत रुपमा पनि सहभागिता रहनेछ । उक्त प्रतियोगतामा करिब २५० जनासम्मको सहभागिता रहने अपेक्षा आयोजकको रहेको छ ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले रु पाँच हजार ५०० पाउनेछन् भने दोस्रो र तेस्रोले क्रमशः रु तीन हजार ५०० र रु दुई हजार ५०० का साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा एउटा स्कुलबाट बढीमा छ जनाले सहभागिता जनाउन पाउने प्रावधान रहेको आयोजकले जनाएको छ ।