खेलकुद

काभा पुरुष भलिबल : नेपालको लगातार तेस्रो हार

८ साउन, काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको छ।

पाकिस्तानको इस्लामावादमा भएको खेलमा पाकिस्तानले नेपाललाई २५-१४, २५-१८ र २५-१० ले पराजित भएको हो। जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो।

पहिलो हाफमा एकतर्फी रूपमा पाकिस्तानले आफ्नो बनायो।‌ २५-१४ मा पहिलो सेट जित्यो। दोस्रो सेटमा ५-४ सम्म दोस्रो सेटमा नेपालले अग्रता बनाएको थियो। त्यसपछि भने १४-८, १७-९,२०-१०, २१-१२ र २५-१८ ले दोस्रो सेट पनि पाकिस्तानले जित्यो।

तेस्रो सेटमा ३-२ ले अग्रता बनाएको पाकिस्तानले ९-३, १४-४, २५-१० ले नेपाललाई हराएको हो। एफआइभिबी वरियतामा पाकिस्तान नेपाल भन्दा माथि रहेको छ। आजको प्रदर्शन पनि सोही अनुरूप रह्यो। बलियो पाकिस्तानविरुद्ध नेपाल निरिह जस्तै बन्यो।‌

नेपालले पहिलो खेलमा काजकिस्तानसँग ३-२ र दोस्रो खेलमा श्रीलंकासँग ३-२ को हार बेहोरेको थियो। नेपालले लेक्चरमा अब दुईवटा खेल खेल्न बाँकी रहेको छ। नेपालले आइतबार बंगलादेशसँग र सोमबार उज्वेकिस्तान सँग खेल्नेछ।

सेमिफाइनलमा स्थान बनाउनको लागि नेपालले अब यी दुवै खेल जित्नै पर्ने हुन्छ। सेन्ट्रल एसियाका भारत बाहेक ६ राष्ट्रको सहभागिता रहेको यस प्रतियोगितामाको शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् ।