अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपतिका प्रतिनिधिले उत्तर कोरिया भ्रमण गर्ने

वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान लागेका छन् । उनले उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधिमा फोर्डका उपाध्यक्ष स्टेफेन बिगनलाई नियुक्त गरिएको पनि जानकारी दिए ।

विदेशमन्त्री पोम्पेओले उत्तर कोरिया भ्रमणमा बिगन पनि साथमै रहने पनि बताए ।

“स्टिभले उत्तर कोरियासम्बन्धी अमेरिकी नीतिका बारेमा नेतृत्व लिनुहुनेछ, राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ–उनबीच भएका सम्झौताको पूर्ण कार्यान्वयनमा योगदान दिनुहुनेछ,” विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पोम्पेओले भने ।

अमेरिका र उत्तर कोरियाले जुनमा सिंगापुरमा भएको ऐतिहासिक शिखर बैठकमा भएका सहमतिको कार्यान्वयन गर्ने सन्दर्भमा वार्ताहरु गरिरहेका छन् । दुवै नेताबीच कोरियाली द्वीपलाई आणविक हतियारविहीन पूर्ण निःशस्त्रीकरण गर्ने समझदारी भएको छ । उत्तर कोरियाले पनि अमेरिकाबाट सुरक्षाको पूर्ण प्रत्याभूति चाहेको छ ।

तर, प्योङयाङले पहिले आफूसँग भएका सबै आणविक हतियारका बारेमा जानकारी दिनुपर्ने अमेरिकाको माग रहिआएको छ भने सन् १९५०–५३ को कोरियाली युद्ध औपचारिक रुपमा समाप्त भएको अमेरिकाले घोषणा गर्नुपर्ने उत्तर कोरियाको आग्रह छ ।

उत्तर कोरियामाथि लागेका आर्थिक नाकाबन्दीको विषयले पनि तनाब सिर्जना गरिआएको छ ।

अमेरिकाले उत्तर कोरियाले आणविक निःशस्त्रीकरण नगर्दासम्म प्रतिबन्धहरु यथावत राख्ने जनाइसकेको छ । यही एक महिनाभित्रै अमेरिकाले उत्तर कोरियासँग सम्बन्धित गैरकानुनी व्यापारलाई लक्षित गरी तीनवटा एकतर्फी प्रतिबन्ध घोषणा गरिसकेको छ । प्योङयाङले अन्तर्राष्ट्रिय प्रतिबन्धका विरुद्धमा अमेरिकाको चर्को आलोचना गरेको छ । गतसाता कीमले प्रतिबन्धका सम्बन्धमा कटाक्ष गर्दै “दुश्मन शक्ति” को कायरतापूर्ण कार्य रहेको बताए ।

यसै वर्षमात्र पोम्पेओको यो उत्तर कोरियाको चौथो भ्रमण हो ।

पहिला दुईवटा भ्रमणमा पोम्पेओले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता कीमबीच ऐतिहासिक शिखर बैठकको तयारी गरेका थिए। उनको तेस्रो भ्रमण भने सिंगापुर बैठकको प्रगतिको समीक्षा गर्नेतर्फ केन्द्रित थियो । तर यस पटकको भ्रमणमा कीमसँग भेटघाट हुने वा नहुने भन्नेबार प्रष्ट भइसकेको छैन ।