खेलकुद

नेपाल युएइसँग पराजित

काठमाडौँ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएइ) सँग ७८ रनले पराजित भएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएइले नेपाललाई २५५ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ४८ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै १७६ रनमा समेटियो । यो नेपालको लगातार दोस्रो हार हो । यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल ओमनसँग सात विकेटले पराजित भयो । हारसँगै नेपालको एशिया कप क्रिकेट खेल्ने सपना अधुरो नै रह्यो ।

खेलमा नेपालका लागि सुवास खकुरेलले सर्वाधिक ५० रन जोडे । एक दिवसीय अन्तर्रााष्ट्रय क्रिकेटमा नेपाललाई अर्धशतक दिलाउने उनी चौथो खेलाडी बने । यसअघि नेदरल्यान्ड्सविरुद्ध को खेलमा ज्ञानेन्द्र मल्ल, पारस खड्का र सोमपाल कामीले अर्धशतक पूरा गरेका थिए । खकुरेलले ९७ बल खेल्दै एक छक्का र २ चौकाको मद्दतमा अर्धशतक पूरा गरे । दीपेन्द्रसिह ऐरीले ४० रन जोडे । सोमपाल कामीले २७, कप्तान पारस खड्काले १६ तथा बसन्त रेग्मीले १२ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् । सुरुवाती ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल ४, रोहितकुमार पौडेल ९ तथा सागर पुन ३ रनमा आउट भए ।

त्यसअघि पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको थियो । युएइका लागि ओपनर चिराग सुरीले सात चौका र एक छक्कासहित ६५ रन जोडे । अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । सन्दीपले १० ओभरमा दुई मेडनसहित २४ रन खर्चेका थिए । वसन्त रेग्मी र सोमापाल कामीले समान दुई/दुई विकेट लिए ।

सन्दीप नेपालको लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा सर्वाधिक विकेट लिने खेलाडीसमेत बने । उनको विकेट सङ्ख्या अब आठ पुगेको छ । यसअघि नेदरल्याण्ड्सविरुद्धको पहिलो सिरिजको दुई खेलमा सन्दीपले ४ विकेट लिएका थिए । यूएइ र नेपाल दुवै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता प्राप्त देश हुन् ।