अन्तर्राष्ट्रिय

चीनको औद्योगिक उत्पादनमा सामान्य वृद्धि

बेइजिङ । चीनको औद्योगिक उत्पादन अगष्ट महिनामा सामान्य वृद्धि भएको शुक्रबार जारी आधिकारिक प्रतिवेदनमा जनाइएको छ । संयुक्तराज्य अमेरिकासँगको व्यापारिक युद्धका कारण औद्योगिक उत्पादनमा प्रभाव पर्ने विज्ञहरुले गरेको अनुमान र अड्कलबाजीभन्दा सकारात्मक प्रगति भएको अधिकारीहरुले बताएका छन् ।

राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) का अनुसार कारखानाको उत्पादनको मुख्य सूचक पीएमआई (पर्चेजिङ म्यानेजर्स इन्डेक्स) अगष्टमा ५१.३ बिन्दुमा रहेको छ र यो जुलाईको ५१.२ बिन्दुभन्दा केही बढी हो ।

ब्लूम्बर्ग न्यूज सर्भेले पीएमआईको स्थिति ५१.० बिन्दु रहने प्रक्षेपण गरेको थियो । यदि ५० बिन्दुको आसपास रहेमा औद्योगिक कलकारखानाको उत्पादन खुम्चिने नभई विस्तार भएको मानिन्छ ।

“उत्पादनको विस्तार भएको छ, र समग्रमा बजारमा मागको अवस्था स्थिर छ,” एनबीएसका विश्लेषक झाओ किङ्घेले भने । उनले उच्च प्रविधियुक्त उत्पादनको भविष्य उज्ज्वल रहेको बताए।

“अन्तर्राष्ट्रिय व्यापारिक टकराब बढ्दै गएको र बाह्य वातावरणको अनिश्चितताका कारण आयात र निर्यातको विगतझैं उच्चस्थिति नभई केही साँघुरोपन देखिएको छ,” झाओले विज्ञप्तिमा भनेका छन् । तथ्याङ्कहरुले चीनको आर्थिक स्थितिमा केही समस्या आउने देखाएको छ, ओन्डाका एसिया प्रशान्त व्यापारका प्रमुख स्टेफेन इन्सले भने ।