अन्तर्राष्ट्रिय

यमन वार्ता बन्दी आदानप्रदानमा केन्द्रित हुन्छ – राष्ट्रसङ्घ

एडेन । यमनका युद्धरत पक्षहरुबीच संयुक्त राष्ट्रसङ्घको अगुवाइमा यही साता जेनेभामा हुने प्रत्यक्ष वार्ता मुख्यरुपमा बन्दीहरुको आदानप्रदानमा केन्द्रित हुने यमनका सरकारी अधिकारीहरुले बताएका छन् । राष्ट्रसङ्घले यमन सरकार र इरान समर्थित हुथी बिद्रोहीलाई जेनेभामा बिहीबारदेखि आइतबारसम्म हुने वार्तामा आमन्त्रण गरेको छ ।

कुटनीतिज्ञ मार्टिन ग्रिफिथले राष्ट्रसङ्घको अगुवाइमा पछिल्लो वार्ता हुन लागेकाले सम्पर्क र सम्बन्ध स्थापित गर्न तथा विश्वासको वातावरण बनाउन त्यसले योगदान गर्ने विश्वास व्यक्त गरे । सन् २०१६ यता यमनमा युद्धरत दुबै पक्षबीच कुनै पनि वार्ता र सम्पर्क हुन सकेको छैन ।

सरकारी अधिकारीहरुले बन्दी आदानप्रदानको सम्झौताका साथै बिद्रोहीको कब्जामा रहेको तटीय सहर होडेडाको भविष्यका बारेमा वार्ता हुने बताए । होडेडा नै अहिले यमन युद्धको मुख्य केन्द्रमा रहेको छ ।

यमनका विदेशमन्त्री खालिद अल–यमानीले भेटवार्ता दुबै पक्षबीच आमनेसामने नहुने बताए । उनले भने, “राष्ट्रसङ्घीय दूतले दुबै पक्षलाई कसरी व्यवस्थापन गर्दछन् भन्ने कुराले पनि वार्तालाई निर्धारित गर्नेछ ।”

यमनको राष्ट्रपति कार्यालयका प्रमुख एवं जेनेभा प्रतिनिधिमण्डलका सदस्य अब्दुल्लाह अल–ओलाइमीले परामर्शहरु अप्रत्यक्ष हुने जानकारी दिए । वार्तामा कुनै प्रगति भएमात्र प्रत्यक्ष भेटघाट हुन सक्ने पनि उनले बताए।

यमन सरकारले हुथी बिद्रोही समूहले लचकता प्रस्तुत नगरेको अवस्थामा वार्तामा खासै प्रगति होला भन्ने आफूहरुले अपेक्षा नगरेको बताएको छ । “हाम्रो अपेक्षा केबल कैदीबन्दीको रिहाइ मात्र हो,” यमानीले भने ।

नाम बताउन नचाहने एकजना सरकारी अधिकारीले बन्दी बनाइएका करिब ५,००० कैदीबन्दीलाई रिहाइ गर्न प्रतिनिधिमण्डलले अनुरोध गर्ने बताए । हुथी बिद्रोहीले पनि आफ्ना ३,००० लडाकुको रिहाइको प्रस्ताव राख्न सक्नेछन्, स्रोतले बतायो ।

साउदी अरेबिया र यससँग आबद्ध मुलुकको सहयोगमा आबेड्राब्बो मन्सुर हादीले तीन वर्षभन्दा बढी समयदेखि हुथी बिद्रोहीसँग सङ्घर्ष गरिरहेएका छन् । यो युद्धलाई रियाद र तेहरानबीचको छद्म युद्धको उपमा दिइएको छ ।