समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिनेविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका नायब सुब्बा रामप्रसाद भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । भारतबाट व्यापारिक प्रयोजनका लागि आयात भएको मालवस्तुको चाँज प्रक्रियामा सहजीकरण गरिदिने भन्दै रु १० हजार घुस लिएको अभियोग लागेको छ । नायब सुब्बा भट्टराईलाई आयोगको टोलीले केही दिन पहिले घुस लिँदालिँदै पक्राउ गरेको थियो ।

यस्तै आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको भन्दै राष्ट्रिय वाणिज्य बैँक इनरुवामा कार्यरत वरिष्ठ सहायक मणिप्रसाद निरौला, गुल्मीको त्रिभुवन माविका कार्यरत शिक्षिका भगवती निरौलाविरुद्ध पनि आयोगले आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।