अन्तर्राष्ट्रिय

अफ्रिकी लगानीलाई शर्तरहीत बनाएका छौं – चिनीया राष्ट्रपति

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले अफ्रिकी समकक्षी एवं व्यापारिक समुदायसँगको भेटवार्तामा अफ्रिकी महादेशमा हुने चिनीया लगानी “राजनीतिक स्वार्थप्रेरित” नरहेको स्पष्ट गरेका छन् । विभिन्न मुलुकलाई उपलब्ध गराएको ऋणबाट निर्मित पूर्वाधारका कारण चिनीयाहरु हाबी भएको आरोप लाग्दै आएको समयमा राष्ट्रपति सीको उक्त भनाइ सार्वजनिक भएको हो ।

राष्ट्रपति सीले दुई दिने चीन–अफ्रिकी शिखर बैठक हुनुअघि यस्तो धारणा राखेका हुन् । शिखर बैठकमा विश्व चर्चित व्यापार पूर्वाधार कार्यक्रम “बेल्ट एन्ड रोड (बीआरआई)” का बारेमा पनि छलफल हुनेछ ।

व्यापक लगानीको बीआरआई मार्फत विदेशी बजार र स्रोतसाधनमा चीनको पहुँचमा सुधार ल्याउने लक्ष्य राखिएको छ । यसबाट बेइजिङको प्रभुत्व विश्वमै फैलिने भनाइ छ ।

चीनले यसअघि नै एसिया र अफ्रिकाका देशहरुमा सडक, रेलमार्ग, बन्दरगाह र अन्य महत्वपूर्ण पूर्वाधार परियोजनामा अर्बौं डलर लगानी गरिसकेको छ । तर आलोचकहरुले चीनको यस परियोजनामा सहमति जनाउने मुलुकहरु ऋणको ठूलो भागले थिचिएको बताएका छन् ।

“अफ्रिकामा चीनको लगानी राजनीतिक स्वार्थप्रेरित छैन,” अफ्रिकी नेता र व्यापारिक समुदायसँगको भेटमा राष्ट्रपति सीले भने । “चीनले अफ्रिकाको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन र अफ्रिकालाई कुनै किसिमले प्रभावित तुल्याउने कार्य गर्दैन । अफ्रिकासँगको चिनीया सहयोग केबल विकासका प्रमुख समस्या सुल्झाउन केन्द्रित छ । हाम्रो सहयोगको रकम मिथ्या परियोजनामा खर्च गर्न सकिँदैन, र त्यस्तो रकमको पूर्ण हिसाबकिताब हुन्छ ।”

तर राष्ट्रपति सीले परियोजनाहरुको व्यावसायिक व्यावहारिकता पनि खोजिनु आवश्यक रहेको स्वीकार्दै लगानीका जोखिमलाई न्यून गर्नेतर्फ पर्याप्त तयारी गरिनुपर्नेमा जोड दिए । उनले सहयोगलाई बढी दिगो बनाउनुपर्ने पनि बताए ।

बेल्ट एन्ड रोडका बारेमा स्पष्ट गर्दै राष्ट्रपति सीले भने, “यो परियोजना कुनै विशिष्ट क्लब होइन र यो एकअर्का बिरुद्ध लक्षित पनि छैन । बरु यसमा खुलापन छ, विचारहरु आदानप्रदान हुन्छ र आपसी लाभमा परियोजनाहरुमा लक्षित गरिएको हुन्छ ।”

अमेरिकी विचारसमूह सेन्टर फर ग्लोबल डेभलपमेन्टको एक अध्ययनमा बिआरआई मार्फत रकम लिने एसियाली, युरोपेली र अफ्रिकी आठ देशमा ऋणको दिगोपनका बारेमा गम्भीर सरोकार रहेको जनाएको छ ।

अफ्रिकी युनियनका वर्तमान अध्यक्ष रुआन्डाका राष्ट्रपति पल कागामेले यस्तो सरोकारको कुनै अर्थ नरहेको बताए । उनले “ऋणको पासो” को कुरा अफ्रिकी–चिनीया सम्बन्धलाई हतोत्साहित गर्ने गलत मनसायबाट उठाउने गरिएको बताए ।

सन् २०१५ मा जोहानेसबर्गमा भएको बैठकमा राष्ट्रपति सीले अफ्रिकाका लागि सहयोग र ऋण गरी ६० अर्ब डलर उपलब्ध गराउने घोषणा गरेका थिए । अफ्रिकी मुलुकहरुले चिनीया सहयोग र ऋणले आफ्नो मुलुकको पूर्वाधार विकास र औद्योगिकीकरणमा योगदान पुग्नेमा विश्वास गरिआएका छन् ।

नाइजेरियाली राष्ट्रपति मुहम्मदु बुहारीको उपस्थितिमा यसपटक चीनको एक्जीम बैंकबाट दूरसंचार परियोजनाका लागि प्राप्त हुने करिब ३३ करोड अमेरिकी डलरको ऋण सहायतामा हस्ताक्षर हुँदैछ । राष्ट्रपति बुहारीले चिनीया र अफ्रिकी कम्पनीहरुले प्रविधिका क्षेत्रमा आपसी सहयोग बढाउने अपेक्षा पनि गरे ।

यसपटकको आफ्रिका–चीन शिखर बैठकमा इजिप्टदेखि सेनेगल र दक्षिण अफ्रिकासम्मका नेताहरुको सहभागिता रहनेछ । बैठकमा विवादास्पद नेता सुडानका राष्ट्रपति ओमार अल–बासिरको पनि सहभागिता हुनेछ ।