समाचार

राष्ट्रका उच्च सैनिक अधिकृतको सम्मेलन शुभारम्भ

काठमाडौँ । नेपाली सेना र ‘यूएस इण्डो–प्यासिफिक कमाण्ड डाइरेक्टोरेट अफ इन्टेलिजेन्स’ को संयुक्त आयोजनामा एशिया प्रशान्त क्षेत्रमा पर्ने राष्ट्रका उच्च सैनिक अधिकृतको सम्मेलन यहाँ शुरु भएको छ ।

आजदेखि शुरु भएको सो ११ औँ ‘एशिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फेरेन्स’ को कामु प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपालमा पहिलो पटक सञ्चालन भएको यस सम्मेलनमा २३ राष्ट्रका उच्च तहका सैनिक अधिकृत ८३ र नेपाली सेनाका २० गरी जम्मा १०३ जनाको सहभागिता रहेको छ । यही भदौ २० गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन आउनु भएका उच्च तहका विदेशी सैनिकलाई नेपालका विभिन्न पर्यटकीय स्थलको भ्रमण गराउने कार्यक्रम समेत रहेको सेनाले जनाएको छ ।

यस्तो बहुर्राष्ट्रिय संयुक्त सम्मेलनले वर्तमान र भविष्यमा उत्पन्न हुनसक्ने रणनीतिक सुरक्षा चुनौतीको समाधानको लागि अन्तर्राष्ट्रियस्तरमा भेटघाट, छलफल र समन्वयद्वारा पेशागत विशेषज्ञता आदानप्रदान हुने सेनाले विश्वास लिएको छ ।