अन्तर्राष्ट्रिय

भियतनाम र म्यान्मारमा बाढी पहिरोको प्रकोप

हनोई । केही दिनयता भियतनाम र म्यान्मारमा बाढीको प्रकोपले सताएको छ । भियतनामको उत्तर र मध्य क्षेत्रमा भीषण वर्षापछि गएको बाढी र पहिरोमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ ।  केहीयता शुरु भएको यस प्रकोपमा परी १३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएका राष्ट्रिय प्रकोप नियन्त्रण तथा व्यवस्थापन निकायले सोमबार जानकारी दिएको छ ।

भियतनामको मध्य प्रान्त थान्ह होआमा नौ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन वेपत्ता भएका सोमबार पुष्टि भएको छ । त्यसैगरी होआ विन्ह, येन बाई, सन ला, लाङ्ग सनमा एक, एक व्यक्तिको मृत्यु भएको छ । यस बाढी र पहिरोमा परी ३६४ घर क्षतिग्रस्त भएको छ भने, ६ हजार ५३२ हेक्टर जमिनमा रहेको धानलगायत अन्य वाली पनि नष्ट भएको बताइएको छ । त्यसैगरी सयौको सङ्ख्यामा चार खुृट्टे जनावरलगायत पशुपक्षिको मृत्यु भएको छ ।

यस वर्षको शुरुका हालसम्म प्राकृतिक प्रकोप तूफान, बाढी, पहिरोमा भियतनाममा भरी १५३ व्यक्ति मृत्यु हुनुको साथै अन्य ११९ घाइते भएका छन् । यस प्रकोपको कारण सात अर्ब भन्दा भियतनामिज दोङको नोक्सान भएको भियतनाका कृषि र शहरी विकाश मन्त्रीले बताएका छन् ।
त्यसैगरी म्यान्मारको बागो क्षेत्रमा अत्यधिक वर्षाका कारण आएको बाढीबाट एक नदीको बाँधमाथिबाटै पानी बग्न थालेपछि यहाँका ६३ हजारभन्दा बढी स्थानीयलाई अन्यत्रै सारिएको थियो ।

बागो क्षेत्रमा निर्मित उक्त नदीको बाँधलाई नाघेर पानी माथिबाट बगेको छ । बाढी गाउँतर्फ पस्न सक्ने त्रासका कारण उद्धार शुरु गरिएको हो । उक्त बाँधका कारण झण्डै एक सय गाउँ नै प्रभावित भएका छन् । म्यानमार करिब दुई हप्ताअघि सोही बाँधबाट आएको बाढीका कारण कम्तीमा ३५ जनाको ज्यान गएको थियो ।