समाचार

स्वतन्त्र पत्रकारितालाई अङ्कुश नलगाइयोस्

काठमाडौँ । प्रतिनिधिसभामा सांसदले विकास निर्माण, मलखाद र बाढीपहिरोसँग सम्बन्धित विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद टेकबहादुर बस्नेतले पछिल्लो बाढी पहिरोमा परी सल्यानमा घर भत्कँदा पाँचको मृत्यु भएकाले पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरे ।

सांसद तीलबहादुर महत क्षेत्रीले चितवन र नवलपरासी जिल्लामा हुलाकी राजमार्ग निर्माणलाई तीव्रता प्रदान गर्न आग्रह गरे । सांसद तेजुलाल चौधरीले शान्तिपूर्ण आन्दोलनमा रहेका जनतालाई बर्दियामा प्रहरीले धरपकड गरेर लोकतन्त्रकै धज्जी उडाउने काम गरेको हुँदा त्यस्तो कार्यलाई तत्काल रोक्न सरकारलाई सुझाव दिए ।

सांसद दलबहादुर रानाले सङ्घ, प्रदेश र स्थानीय तहको साझा सूचीमा रहेका कानून बनाउने कार्यलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिए ।
सांसद दिलेन्द्रप्रसाद बडूले त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन गर्ने वार्षिक परीक्षाको प्रश्नपत्र परीक्षा हुनु अघि नै सार्वजनिक गर्नेलाई कारवाही गर्न र पोखरा विश्वविद्यालयमा भएको अनियमितताको छानबिनको माग गरे ।

सांसद देवप्रसाद गुरुङले काठमाडौँमा २४ मुलुकका सैनिकको अभ्यास हुँदै आएको सूचना प्राप्त भएकाले त्यो कार्य हाम्रो परराष्ट्र नीतिअनुरुप छ कि छैन भनी प्रश्न गरे ।

सांसद देवप्रसाद तिमिल्सिनाले लामो समयदेखि उखु किसानले चिनी मिलबाट भुक्तानी पाउन नसकेकाले त्यसका लागि पहलका गर्न माग गरायो भने सांसद देवेन्द्र पौडेलले कालीगण्डकी कोरिडोर सडक निर्माणको कामलाई तीव्रता दिने ढङ्गबाट काम अघि बढाइयोस् भने ।

सांसद नारायणप्रसाद खतिवडाले पासाङल्हामु राजमार्गका विभिन्न ठाउँमा पहिरोले सडक पटकपटक अवरुद्ध हुँदै आएकाले पहिरो हटाएर अविलम्ब सहजरुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।

सांसद नारायणप्रसाद मरासिनीले प्रदेश नं ४ र प्रदेश ५ नं लाई जोड्ने कालीगण्डकीमाथि रहेको राम्दी पुल जीर्ण अवस्थामा रहेकाले तत्काल मर्मत सुधार होस् भने ।

सांसद पदम गिरीले पर्वत जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोबाट पुलमा क्षति पु¥याएकाले तत्काल मर्मत सुधारका लागि माग गरे । सांसद पार्वता डिसी चौधरीले लामो समयदेखि सञ्चालनमा आउन नसकेको राप्ती विज्ञान प्रतिष्ठानलाई अब तत्काल सञ्चालनमा ल्याइयोस् भने ।

सांसद पार्वतीकुमारी विसङ्खेले दैलेख भएर हिमाली जिल्ला जोड्ने कर्णाली राजमार्गमा लामो समयदेखि शिलान्यास भएर पनि अलपत्र अवस्थामा राख्ने ठेकेदारलाई कारवाही गर्न र पुल निर्माणलाई अघि बढाउन माग गरे ।

सांसद पूर्णकुमारी सुवेदीले अहिले नेपाली जनताले शान्ति र विकास खोजे पनि विकासको गति अलमल भएको अवस्थामा रहेकाले नयाँ योजना बनाएर विकास र समृद्धिलाई अघि बढाइयोस् भने । सांसद प्रकाश रसाइलीले मुलुकी फौजदारी अपराध संहिताले प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाएको बताउँदै संशोधन गर्न माग गरे ।

सांसद प्रतिमा राईले कटारीबाट घुर्मी जाने सडक क्षेत्रमा पार्किङ शुल्कका नाममा गैरकानूनी काम भएकाले त्यसलाई रोक्न माग गरे । सांसद प्रमोद शाहले मुलुकभर युरिया मलका लागि किसानले निकै कठिनाइ भोग्नु परिरहेको अवस्थालाई अत्यन्त गर्न र कालीमाटी तरकारी बजारका स्टल बिचौलीयाको ठूलो आम्दानीको स्रोत बन्दै आएकाले छानबिन होस् भने ।

सांसद बालकृष्ण खाँणले लोकतान्त्रिकको मेरुदण्डका रुपमा रहेको स्वतन्त्र पत्रकारितालाई अङ्कुश लगाउने काम कोही कसैबाट हुन नहुने धारणा व्यक्त गरे। ्