काठमाडौँ । पोल्याण्डको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग आज त्यहाँका रक्षामन्त्री मारिउस्ट व्यास्टाकले नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि संयुक्त अभ्यास र सहकार्यको प्रस्ताव गरे ।
जवाफमा उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले सञ्चालन गर्ने स्टाफ कमाण्डो तालीम, माउन्टेन वारफेर तालीम र प्यारा वेसिक तालीम पोलिस सेनालाई उपलब्ध गराउन नेपाल सरकार र नेपाली सेना तयार रहेको बताएका थिए ।
भूकम्पको समयमा पोल्याण्डका तर्फबाट नेपाली जनतालाई गरेको सहयोगका निम्ति धन्यवाद व्यक्त गर्दै उनले नेपालीका लागि प्रवेशाज्ञा (भिसा) आवेदन प्रक्रिया सहज बनाउन आग्रह गरेको उपप्रधानमन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए । उपप्रधानमन्त्री पोखरेलले पोल्याण्ड सरकारले नेपाली विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि यसअघि पोल्याण्ड सरकारले दिँदै आएको छात्रवृत्ति पुनःसञ्चालन गर्न आग्रह गरेको थियो ।
दुईपक्षीय भेटवार्ता र छलफलमा पोल्याण्डका रक्षामन्त्री व्यास्टाकले आफ्नो मुलुकले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न सैन्य छात्रवृत्ति र सामग्री उपलब्ध गराउन इच्छुक रहेको दोहो¥याएको थियो । “नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न सैन्य छात्रवृत्ति र सामग्री उपलब्ध गराउन हामी इच्छुक छौँ”, रक्षामन्त्री व्यास्टाकले भने, “हाम्रो मुलुक तपाईहरूसँग संयुक्त अभ्यास र सहकार्यको प्रस्ताव गर्छौं ।”
हालसम्म चीन, भारत, अमेरिका, बेलायत र पाकिस्तानलगायतका मुलुकसँग मात्रै नेपाली सेनाले संयुक्त अभ्यास गर्दै आएको छ । यस वर्षदेखि श्रीलङ्का पनि थपिएको संयुक्त सैन्य अभ्यास गर्ने मुलुकमा थपिएको छ । सन् १९९३ भन्दाअघि पोल्याण्डले चिकित्सक अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको थियो ।